
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नियामक निकायले स्पष्टीकरण सोध्दैमा कोही तर्सिनु नपर्ने बताएका छन् । मिडिया हाउस जिम्मेवार भए काउन्सिलले पत्र काट्नै नपर्ने उनको भनाइ छ ।
बुधबार कुपण्डोलस्थित लोकान्तर डट्कमको कार्यालय भ्रमण र पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बस्नेतले आचारसंहिता पालनामा काउन्सिलले सहजीकरण गर्ने बताए । ‘मिडियाको नियामक निकाय भएकाले काउन्सिलले बेलाबखत स्पष्टीकरण सोध्ने र सचेत गराउने गर्दै आएको छ’ बस्नेतले भने, ‘मिडिया आफै जिम्मेवार भए पत्र काट्ने अवस्था नै आउँदैन ।’
मूलधारको रुपमा स्थापित हुँदै गएका अनलाइन संचारमाध्यमको अनुगमनलाई प्रभावकारी बनाइने पनि उनले बताए । ‘राज्यको सुविधा लिनका लागि खेताला सम्पादक देखाएर अनलाइन चलाउने, कसैले उत्पादन गरेको सामग्री हुबहु कपी गर्ने जस्ता काम निरूत्साहित गर्न काउन्सिल प्रतिबद्ध छ’ उनले भने ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले निर्वाचन आचारसंहिता पालना गराउन मिडियाको ठूलो भूमिका हुने बताए । ‘चुनावमा कुनै मिडिया अमुक राजनीतिक दल या उम्मेदवारको पक्षमा दुरुपयोग नहोस् भनेर अनुगमन गरिरहेका छौं’ भुसालले भने ।
प्रेस काउन्सिलले न्यु मिडियाको रुपमा स्थापित अनलाइन सञ्चार माध्यमको सम्पादकीय नेतृत्वसँग छलफल सुरु गरेको बताए । काउन्सिलले अनलाइन सञ्चार माध्यमसँगको छलफल लोकान्तरबाट सुरु गरेको हो ।
‘लोकान्तरका समाचार सामग्री राजनीतिक रुपमा तटस्थ र सन्तुलित पाएका छौँ, यसले अनलाइन मिडियाको विश्वसनियता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने छ’ अध्यक्ष बस्नेतले भने ।

सो अवसरमा लोकान्तर डट्कमका सम्पादक विमल गौतमले मूलधारको रुपमा विकसित हुँदै गएका अनलाइन सञ्चार माध्यमको शुद्धीकरणका लागि काउन्सिलको प्रभावकारी भूमिका जरुरी रहेको बताए । प्रेस काउन्सिलले स्पष्टीकरणका लाग पत्र काट्नुपर्ने अवस्था नआओस् भन्नेमा आफूहरू सचेत रहेको पनि गौतमले बताए । ‘सकेसम्म हामी प्रेस काउन्सिलले पत्र काट्नु पर्ने गरी कुनै समाचार लेख्दैनौ, यदाकदा काउन्सिलले काट्ने पत्रलाई हामीले मार्गदर्शनको रुपमा लिने गरेका छौं,’ गौतमले भने ।
