२७ जेठ २०८३, बुधबार

राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : प्रचण्ड

कात्तिक १७, २०७९
राजनीतिक प्रक्रियाको सफलताका लागि आर्थिक विकास अपरिहार्य : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा भएको गोरखा जिल्लाका गठबन्धनका साझा उम्मेदवारहरूको परिचयात्मक चुनावी प्रचार–प्रसार कार्यक्रम समारोहलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताएका हुन् । 

अध्यक्ष दाहालले राजनीतिक प्रक्रियाको सफलताको निम्ति आर्थिक विकास अपरिहार्य रहेको पनि बताए । उनले नेताको दैनिक जीवनमा आर्थिक समृद्धिको यात्रा शुरु भएको अनुभूति दिलाउन र आर्थिक क्रान्तिको खाका कोर्न नसके राजनीतिक परिवर्तन दिगो नहुने बताए । उनले नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर ढुक्कसँग जानसक्ने वातावरण जनताले गठबन्धनलाई मत दिएर मात्रै सम्भव रहेको बताए । उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरको रूपमा लिएको बताए । 

उनले गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको बचाइरहने र राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका उजागर पार्नुपर्ने चुनौती रहेको बताए । गोरखाली जनताले आफूलाई नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने अवसर प्रदान गर्नेमा आफू विश्वस्त रहेको बताए । 

‘मेरो गोरखा आगमनलाई मैले ठूलो चुनौती र अवसरको रूपमा लिएको छु । चुनौती गोरखा जिल्लाको इतिहास, राष्ट्र एकताको सन्दर्भमा वा राजनैतिक परिवर्तन र प्रगतिको सन्दर्भमा गोरखा जिल्लाको ऐतिहासिक भूमिका छ । जुन दूरगामी रणनैतिक भूमिका छ । त्यो भूमिका खेल्ने जनताको भावनालाई मैले उचित सम्मान गर्न सक्छु की सक्दिन भन्ने चुनौतीजस्तो मलाई महसुस भइराख्छ । गोरखाली जनताको अपेक्षामा म खरो उत्रिनसक्छु की सक्दिन भन्ने चुनौती ठानेको छु’, प्रचण्डले भने, ‘गोरखाको ऐतिहासिक परम्परालाई अघि बढाउने र राज्यको एकताबद्ध गराउने अवसरको रूपमा र नेपालको राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तनसहित समृद्ध गर्ने एउटा ठूलो अवसरको रूपमा पनि मैले गोरखामा मेरो उम्मेदवारीलाई लिएको छु । यसलाई सफलतापूर्वक कार्यसम्पादन गर्नसकेँ वा हामी सबै मिलेर सम्भव छ । यो निर्वाचन सामान्य निर्वाचनको रुपमा नलिइदिनुहोला । नेपाल एकपटक फेरि निरंकुशता, अराजकता, प्रतिगमनतिर जाने की ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै विकास र समृद्धिको यात्रामा अघि बढ्ने भन्ने कुराको लडाइँ हो ।’

अध्यक्ष प्रचण्डले गोरखाको विकासको लागि सबै राजनीतिक दलहरू एकत्रित भएर काम गर्न आवश्यक रहेको बताए । उनले गठबन्धनले गोरखामा जितेको चुनाव परिणाम असाधारण तरिकाले जित्यो भन्नेकुरा सावित गर्न सक्नुपर्ने बताए । उनले आगामी चुनावमा अभूतपूर्व रूपमा परिणाम निकाल्ने गरी चुनावमा लाग्न पनि नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई टाउको उठाउन नसक्ने गरी पराजित गर्नुपर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्