
नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले तीन उपमहानगरपालिकामा रेल चलाउने प्रतिबद्धतासहितको घोषणापत्र जारी गरेको छ । दिगो यातायात गुरूयोजना बनाउँदै बुटवल–भैरहवा, नेपालगञ्ज–कोहलपुर र घोराही–तुलसीपुरमा रेलको सम्भाब्यता अध्ययन गरी योजना अगाडि सार्ने घोषणपत्रमा उल्लेख गरिएको हो ।
घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस प्रदेश सभापति अम्मरसिंह पुनले शिद्धबाबा, माडी र दाङमा सुरूङमार्ग बनाउने योजना पनि उल्लेख गरेका छन् । घोषणापत्रमा समावेश गरिएको कुराहरू पूर्ण-कार्यान्वन गरिने पुनले दाबी गरे । त्यस्तै बुटवल, सिद्धार्थनगर, घोराही, तुलसीपुर, नेपालगन्ज र कोहलपुरलाई प्रमुख आर्थिक केन्द्रको रुपमा विकास गरिने पनि कांग्रेसको घोषणापत्रमा उल्लेख गरिएको छ ।
प्रदेशमा अबको ५ वर्षभित्र २ लाखभन्दा धेरै रोजगारी सिर्जना गर्ने र राष्ट्रको कूल जीडीपीमा योगदानलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएको घोषणापत्रमा उल्लेख गरिएको पुनले बताए । कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बने घोषणापत्रमा उल्लेख गरिएको बुँदाहरूको कार्यान्वयन हुने उनले बताए । प्रतिपक्षमा रहेको अवस्थामा पनि सरकारलाई कांग्रेसले घच्घच्याउँदै कार्यान्वयनको लागि दबाब सिर्जना गरिने पुनको भनाइ छ ।
प्रदेशमा रहेका १२ जिल्ला र १०९ स्थानीय तहलाई एक विद्यालय, एक स्वास्थ्यकर्मी नीतिलाई सबै विद्यालयहरूमा सुनिश्चित गरिने उल्लेख छ । अत्यावश्यक औषधि कारखाना प्रदेशभित्रै स्थापना गरिने र दीर्घरोको उपचार पूर्ण निःशूल्क गरिने कांग्रेसको घोषणपत्रमा उल्लेख छ । यस्तै एक पालिका, एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवाहरूसँग जोडिने घोषणपत्रमा बताइएको छ ।
लैंगिक उत्तरदायी बजेट प्रणाली लागू गरी सहभागितामूलक योजना तर्जुमा प्रक्रियामा महिलाहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने योजना कांग्रेसले बनाएको छ । शहिद, द्वन्द्व पीडितका परिवार, अपांग, दलित, विपन्न, मुक्तकमैया, कम्लहरी, मुस्लिम विद्यार्थीहरूलाई विद्यालय तथा उच्च शिक्षा अध्ययनमा विशेष छात्रवृत्तिको व्यवस्था गरिने भएको छ । यस्तै राष्ट्रिय निकुञ्ज, सामुदायिक बन क्षेत्रमा रहेका उमेर पुगेका रुखहरूको वैज्ञानिक तवरबाट प्रयोग गरी काठजन्य सामग्रीको आयात घटाइने घोषणपत्रमा उल्लेख गरिएको छ ।