०६ असार २०८३, शनिबार

मधेश प्रदेश सरकारसँग विवरण माग, सवारी साधन नियन्त्रणमा लिन निर्देशन

कात्तिक १७, २०७९
मधेश प्रदेश सरकारसँग विवरण माग, सवारी साधन नियन्त्रणमा लिन निर्देशन

निर्वाचन आयोगले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो प्रदेशको प्रदेश सभा सचिवालयलाई पत्र पठाई प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको विषयमा विवरण उपलब्ध गराउन पत्र पठाएको छ ।

आयोगले मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (क) मा सार्वजनिक निकाय वा कुनै परियोजनाको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था रहेको स्मरण गराउँदै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री समेतले सवारी साधन नबुझाइ निजी नम्बरप्लेट कायम गरी हिँडेको भनी उजुरी प्राप्त हुन आएको जनाएको छ ।

आयोगले सो सम्बन्धमा के कसो भएको हो ? भनी प्रदेश सभाका सभामुख, उपसभामुख र विभिन्न समितिका सभापतिलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरुको विवरण दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउन आग्रह गरेको छ ।

यस्तै आयोगले धनुषाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाइ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका विभिन्न समितिका सभापति एवं सरकारी सवारी साधन प्रयोग गरेकाहरू मध्ये कसैले पदबाट हटेपश्चात समेत सरकारी सवारी साधन नबुझाइ लगेको वा सरकारी पदमा रहँदा आफूलाई प्राप्त सवारी साधनको नम्बर प्लेट परिवर्तन गरेको भेटिएमा सवारी साधन तत्काल नियन्त्रणमा लिई कानूनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्