
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सबै दलहरूले आ–आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । निर्वाचनका बेला घोषणापत्रमा महत्वाकाङ्क्षी विषयले स्थान पाए पनि निर्वाचित भइसकेपछि ती प्रतिबद्धता कार्यान्वयन हुनेमा सर्वसाधारण सशङ्कीत छन् ।
रेडियोबाट दलहरूका चुनावी प्रतिबद्धता सुनेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का ६३ वर्षीय लक्ष्मीनारायण विष्टले दलहरूले गरेका चुनावी प्रतिबद्धता कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरे । “गएको निर्वाचनमा पनि उम्मेदवारले ठूला–ठूला विकासका योजना ल्याउने प्रतिबद्धता गरेकै हुन्, विगत पाँच वर्षमा केही हुन सकेन”, उनले भने, “चुनावका बेला त पानीजहाज र रेल चलाउने सपना देखाउँछन् तर निर्वाचित भएपछि काम गर्नै सक्दैनन् ।”
उम्मेदवारले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्न गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ ।
त्यसैगरी समाज परिवर्तनका लागि लामो समयदेखि सक्रिय संस्था ‘हेल्प नेपाल कञ्चनपुर’का अध्यक्ष मदन चन्दले दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्र कागजमा मात्रै सीमित हुन नहुने बताए । “दलहरूले ल्याउने घोषणापत्रप्रति आम नागरिक विश्वस्त हुनसक्ने अवस्था छैन”, उनले भने, “उम्मेदवारले चुनावमा गरेका बाचा पूरा गर्न कटिबद्ध भएर लाग्नुपर्ने हो । तर बिडम्बना निर्वाचित भएपछि उनीहरु गम्भीर भएका देखिँदैनन् ।” चन्दले दलहरूले घोषणापत्र ल्याउँदा जनताको भावना समेटिने गरी ल्याउनुपर्ने बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्टले दलहरूमा उत्तरदायित्वबोध नहुनुले पनि चुनावी प्रतिबद्धता कार्यान्वयन नभएको बताए । अस्थिरताका कारणले पनि दलहरूले आफ्ना प्रतिबद्धता पूरा गर्न नसकेको भट्टको भनाइ छ ।
दलहरूले ल्याउने घोषणापत्रमा महत्वपूर्ण विषय समेटिने भए पनि कार्यान्वयनमा गम्भीर भएर उम्मेदवार र दलहरूले लाग्नुपर्ने सामाजिक अगुवाहरू बताउँछन् ।