
काठमाडौं क्षेत्र नम्बर २ मा चुनावी माहोल जोडतोडले तातेको छ ।
उम्मेदवारहरू घरदैलो र मतदातासम्म आफ्नो एजेन्डा पुर्याउने काममा व्यस्त छन् । अहिलेसम्मको माहोल हेर्दा काठमाडौं– २ मा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
तिनैमध्ये चुनावी माहोलमा जोडतोडले प्रचारमा व्यस्त एक उम्मेदवार हुन्, राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेल । ३५ वर्षीय पोखरेल युवा उद्यमी, समाजसेवी एवं राजनीतिकर्मी हुन् ।
भ्रष्टाचार अन्त्य, हिन्दू धर्मको संरक्षण र जनपक्षीय राजनीति उनका मुख्य एजेन्डा छन् । चुनावी माहोल बनाउन उनी आक्रामक प्रचारमा छिन् ।
चुनाव जितेर गएपछि जनताकोमा नफर्किने प्रवृत्ति अन्त्य गर्ने भन्दै पोखरेलले घरदैलो गरिरहेकी हुन् । असल र इमान्दार व्यक्ति नीति निर्माण तहमा पुग्नुपर्ने उनको भनाइ छ ।
‘नेपालको आवश्यकता भनेकै असल, इमान्दार, नैतिकवान, विकासप्रेमी र देशभक्त नेतालाई देशको निर्णय गर्ने, नीति तर्जुमा गर्ने, योजना निर्माण गर्ने र कार्यान्वयन गर्ने स्थानमा पुर्याउनु हो, जसबाट मुलुकका राष्ट्रिय आवश्यकता पूरा गर्न सकियोस्,’ उनले भनिन् ।
जनताले चुन्ने नेतृत्व समाजका लागि योगदान गरेको, समाजका आवश्यकता परिपूर्तिका लागि सक्रिय रहेको, जनताका गुनासो सम्बोधनका लागि सार्थक प्रयास गरेको र उद्यमशीलता विकासमा सक्रिय भएको हुनुपर्ने पोखरेल तर्क छ ।
भ्रष्टाचारको कुनै मनसाय नराख्ने, उच्च नैतिकता भएको, राष्ट्र र राष्ट्रियताका लागि जस्तोसुकै त्याग गर्न सक्षम जनप्रतिनिधि चाहिएको उनको भनाइ छ ।
कुन्ती सफल युवा उद्यमी एवं राजनीतिकर्मी हुन् । तयारी पोशाकमा नेपाललाई आत्मनिर्भर बनाउनका लागि भन्दै उनले थुप्रै कपडा उद्योग खोलेकी छन् । ‘पोज फेसन’मा यतिबेला थुप्रले रोजगारी पाइरहेका छन् ।
राजनीति कमाउने पेशा नभएको भन्दै उनले राजनीति गर्ने व्यक्ति आफू चल्नका लागि कमाइको अर्को कुनै स्रोत हुनुपर्ने उनको तर्क छ ।
‘भोलि जनताले चुनेर पठाएपछि भ्रष्टाचार गरेर खानुभन्दा आफ्नै व्यवसायमार्फत जीविकोपार्जन गरेर राजनीतिलाई समाजसेवाको रूपमा हेरिनुपर्छ,’ पोखरेलले भनिन्, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह हो’ भन्ने राप्रपाको मान्यतालाई आत्मासात गरी मन, वचन र कर्मले समाज सेवामा लागेको छु ।’
आफूले पैँतालाले नै देशका ४० भन्दा बढी जिल्ला टेकिसकेको उनको भनाइ छ ।
उनको नेतृत्वमा रहेको गैरसरकारी संस्था ‘तारामण्डल महिला सशक्तीकरण अभियान’ले थुप्रै महिलालाई उद्यमशील बनाउन सीपमूलक तालिम दिइसकेको छ ।
उनको संस्थाले असहाय बालबालिकाको हेरचाह समेत गर्दै आएको छ ।
‘आफूले कमाएको मध्ये केही रकम समाजमा अप्ठ्यारोमा परेकाहरूका लागि पनि छुट्ट्याउनुपर्छ,’ उनी भन्छिन् ।
विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिलाई ६० वर्षमा पेन्सनको योजना
उनले पार्टीको घोषणापत्रका साथै आफ्नो छुट्टै योजना समेत सार्वजनिक गरेकी छन् ।
खेलकुद, मनोरञ्जन, लेखन र पत्रकारितामा निरन्तर लागिपरेकाहरूलाई राष्ट्रिय जीवनमा योगदान पुर्याएबापत राष्ट्रले ६० वर्षपछि पेन्सन सुविधा उपलब्ध गराउने उनको योजना छ । यसलाई कार्यान्वयनमा ल्याउनका लागि आमबहस गरेर मापदण्ड तयार पारिने उनी बताउँछिन् ।
आफूले चुनाव जितेमा मतदातालाई निराश हुन नदिने उनको प्रतिबद्धता छ ।
‘देश र जनताको कामलाई निरन्तर अगाडि बढाउँछु । जनताको आवश्यकताअनुसार जुनसुकै अवस्थामा पनि डटेर काम गर्छु । धर्म संस्कृतिको उत्थानका लागि जस्तोसुकै त्याग गर्न तयार छु । कुनै कसर बाँकी नराखी भ्रष्टाचारीहरूलाई कारबाहीको दायरामा ल्याउन प्रतिबद्ध छु,’ आफ्नो कुरा बिट मार्दै पोखरेलले भनिन् ।