
काठमाडौं २४ साउन - माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी छाडेर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुराम भट्टराइप्रति व्यग्य गरेका छन् ।
‘बाबुरामले कस्तो न केजरीवाल बन्न हिँडेका थिए तर जनताले उनलाई माओवादी भनेर पठाइदिए’ प्रदेश नम्बर ३ का केन्द्रीय सदस्यलाई प्रशिक्षण दिन मंगलवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने ।
प्रचण्डले माओवादी छाडेर गएका मोहन बैद्य किरण र नेतविक्रम चन्द्र विप्लवको पनि हालत खराव भएको टिप्पणी गरे । नयाँ शक्ति र विप्लवसंग गएका कार्यकर्ता निराश भएर माओवादीको मुल धारमै फर्किने तयारी गरेको पनि उनले बताए ।
प्रचण्डले परिवर्तनका एजेण्डा संस्थागत गर्न नसकिए आफूहरुलाई पेरु र कम्बोडियाका बिद्रोहीलाई जस्तै बनाउने षडयन्त्र भइरहेको समेत बताए ।
‘परिवर्तन उल्टिनु भनेको माओवादीले गरेको १० वर्षे संघर्ष जनयुद्ध थिएन अपराधिकरण थियो भन्नु हो’, प्रचण्डले भने, ‘मलेसिया, पेरु र कम्बोडियामा जे भयो त्यो अवस्थामा हामीकहाँ पनि आउन सक्छ ।’ पेरु र कम्बोडियाका बिद्रोही नेतालाइ पछि युद्धअपराधको मुद्दा चलाइएको थियो ।
परिवर्तनका एजेण्डालाई रक्षा गर्न नसकिए माओवादीलाई पनि त्यसैगरी सकिदिने प्रचण्डले बताए । ‘अहिलेको प्रमुख काम भनेको परिवर्तनको रक्षा गर्नु हो, कांग्रेस एमाले कहिल्यै परिवतर्नको पक्षमा छैनन्’ प्रचण्डले अगाडि भने, ‘यदी रोक्न सकिएन भने हाम्रै पालामा सक्याउँछन् ।’
प्रचण्डले कांग्रेस, एमालेहरु षड्यन्त्र गर्ने लाइनमा रहेको दावी गरे । ‘हामीहरु सचेत भएनौं भने सिध्याइदिन्छन,
विद्रोह गर्न म तयार भइसकेको छु, तपाईँहरु पनि तयार हुनुहोस्’ उनले भने ।
प्रचण्डले माओवादीहरु बिग्रिदै गएको भन्दै चिन्ता व्यक्त गरे । ‘हामीले जनता देख्नै छाड्यौं अहिले अलीअली खट्दा १४ लाख भोट आए । तपाई हामीदले छाडेपनि जनताले छाडेका रहेनछन्’ प्रचण्डले भने । नेताहरु पार्टीको लागि भन्दा पनि व्यक्तिको फाइदाको लागि पार्टी र समूहको प्रयोग गर्न लागेको आरोप लगाए ।