काठमाडौं, २३ साउन - नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वमाथि चर्को विवाद उत्पन्न भएको छ । गत शनिबार भएको निर्वाचनमा अध्यक्षमा पराजित जिङ्बाजाङ्बु शेर्पा समुहले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै एक सिसीटिभी फुटेज सार्वजनिक गरेपछि चर्को विवाद आएको हो ।
पत्रकार सम्मेलनमा गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको दाबी गर्दै सिसीटिभी फुटेज सार्वजनिक गरेको छ । फुटेजमा निर्वतमान कोषध्यक्ष टिका गुरुङले केही कार्ड मिलाएको देखिएको छ । शेर्पासमुहले फुटेजसहित जिल्ला प्रशासन कार्यालयमा छानबिनका लागि उजुरीसमेत गरिसकेको जनाएको छ ।
सो समुहले यो कार्यसमिति अबैधानिक भएकाले तत्काल खारेज गरी नयाँ निर्वाचनमा जान माग गरेको छ । प्रशासन कार्यालयले न्याय नगरे अदालत जान बाध्य हुने शेर्पासमुहले चेतावनी समेत दिएको छ । शेर्पा समर्थक एवंम् व्यवसायी दीपक महतले पेशागत संघसंगठनहरुभित्र अपराधिकरणलाई अन्त्य गर्न यो कुरा पर्दाफास गर्नु परेको बताए । महतले सामान्य धाँधली हुनु स्वभाविक भए पनि गम्भीर धाँधली भएको फेला पारेकाले यो मुद्दा बाहिर ल्याउन बाध्य भएको बताए । शेर्पा प्यानलबाटै निर्वाचन लडेका कुल बहादुर गुरुङले भने छानबिन नगरी यो विषयमा भन्न नमिल्ने बताए ।
यो विषयमा नवनिर्वाचित अध्यक्ष सन्तवीर लामा समुहका समर्थकहरु भने हार पीडा मात्रै भएको बताउँछन् । व्यवसायी राजेन्द्रप्रसाद सापकोटाकाअनुसार टानका पूर्वअध्यक्ष एवंम् भोटर ज्योति अधिकारीको कार्य छुटेकाले कार्ड लिन टानका निवर्तमान सचिव टिका गुरुङ संघको कार्यालयमा जाँदाको फुटेज भएको दाबी गरे । उनले भने, यो ‘हार बेहोर्दाको पीडा बाहेक केही हैन, एक जना सदस्यको भोटिङकार्ड छुट्दा मतदानबाटै रोक्ने, सकेसम्म त उपाय निकाल्नु पर्यो नि ।’ आर्थिक लेनदेनको कुरामा एक सय रुपैंया कार्डको शुल्क मात्रै लिएको दाबी गरे । गत शनिबार भएको चुनावबाट ३ सय ८३ मतका साथ अध्यक्षमा एमाले निकट सन्तवीर लामा निर्वाचित भएका भएका थिए भने शेर्पाले ३ सय १६ मत प्राप्त गरका थिए । शेर्पा कांग्रेस निकट मानिन्छन् ।