काठमाडौं, २३ साउन - बिगत ८ वर्षदेखि बन्द रहेको सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको एक मात्र विमानस्थल (देवल विमानस्थल) सञ्चालनमा ल्याउन सरोकारवालाहरुले सरकारको ध्यानआकर्षण गराएका छन् ।
पर्यटन अभियन्ता तथा सुदूरपश्चिम समृद्धि मार्ग (चैनपुर–ताक्लाकोट सडक खण्ड) दबाव समुहका संयोजक किशोर खड्काको नेतृत्वमा सोमबार बझाङ जिल्लाका सांसद तथा पत्रकार सहितको टोलीले पर्यटन मन्त्री जितेन्द्र देबलाई विमानस्थल पिच गरि जहाज सञ्चालनमा ल्याउन लिखित कडा माग प्रस्तुत गरेको हो ।
टोलीले हवाई मैदान ‘खेल मैदान’मा परिणत हुँदा पनि सरकारले वेवास्ता गरेको भन्दै छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने वातावरण बनाउन माग गरेको थियो । टोलीले जिल्ला जोड्ने एक मात्र सडक यसै महिनामा मात्र १० पटक अबरुद्ध भएको, बिरामी तथा आम सर्बसाधारण यात्रुहरु मर्कामा परेको र सुदूरपश्चिमका अन्य जिल्लाका विमानस्थलहरु पिच भएर जहाज सञ्चालनको तयारीमा रहेपनि बझाङ जिल्लाको विमानस्थल भने संचालन गर्न राज्यले कुनै ध्यान नदिएको गुनासोगरेको थियो ।
मागपत्र बुझ्दै पर्यटन मन्त्री जितेन्द्रदेबले आफुले उक्त विमानस्थल सञ्चालनका लागि तत्कालै पहलकदमी थाल्ने बताएका छन् ।