काठमाडौ, २५ साउन - ललितपुरका प्रवीण खत्री लागूऔषध दुर्व्यसनी थिए । १२-१५ वर्षदेखि उनले लागूपदार्थ सेवन गर्दै आएको परिवारको दाबी छ । उनी सुध्रिएलान् कि भनेर परिवारले नै पटक-पटक प्रहरीमा बुझाएको थियो । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले पनि उनलाई नियन्त्रणमा लिएको थियो । तर, पुनःस्थापना केन्द्रमा राख्दा पनि उनी सुध्रिएनन् । प्रहरीमा उनीविरुद्ध कुनै उजुरी वा मुद्दा छैन, अन्नपुर्ण पोस्टले खबर छापेको छ ।

परिवार र छिमेकीका अनुसार ३२ वर्षीय खत्रीका दुई समस्या थिए- एउटा लागूऔषध सेवन गर्ने अनि अर्को परिवारका सदस्यलाई तनाव दिने । उनी कम बोल्थे, घरबाट बाहिर कमै निस्कन्थे । उनी श्रीमती, छोरा तथा बुबाआमासहित कुसुन्तीमा बस्थे । 'छरछिमेकमा उसले त्यस्तो धाकधम्की दिँदैनथ्यो । घरबाहिर निस्किएको र घर छिरेको पत्तै पाइन्नथ्यो', छिमेकी उद्धव थापा भन्छन् । उनै व्यक्ति सोमबार प्रहरी 'इन्काउन्टर'मा मारिए । प्रहरीको दाबीअनुसार उनी १० वर्षदेखि लागूऔषध कारोबारी थिए र उनको साथमा दुईवटा अटो लोडेड पेस्तोल भेटिएको छ । 'प्रवीणले आफैंलाई कञ्चटमा गोली प्रहार गरी आत्महत्या गरेका हुन्', प्रहरी भन्छ ।
'ऊ १० वर्षदेखि लागू औषधको कारोबारमा संलग्न थियो भने प्रहरीले किन पक्रन सकेन ? किन उसको साथबाट लागूऔषध बरामद हुन सकेन', उनका एक आफन्त भन्छन्, 'एकातर्फ घरभित्र छिरेर मान्छे मार्ने, अर्कोतर्फ लागूऔषध कारोबारी थियो भनेर परिवारलाई नै धब्बा लगाउने ? ' खत्रीको घर आसपास बाक्लो बस्ती छ । दिउँसो २ बजे भएको उक्त घटना देखेको कुनै छिमेकीले बताएका छैनन् ।
प्रहरीको दाबीमा खत्री घरको छतबाट दुबै हातमा पेस्तोल लिँदै भुइँमा झरेका थिए । उनले करिब २२ फिट उचाइबाट र १५ फिट चौडाइ पार गर्न हामफालेको प्रहरीको दाबी छ । बाक्लो बस्तीमा छरछिमेक चुप लागेर बस्नु र लागूऔषध दुर्व्यसनी मात्र रहेका खत्री इन्काउन्टरमा मारिनुले घटना रहस्यमय देखिएको छ ।