
काठमाडौं, २५ साउन — उत्तर कोरियाले अमेरिकाको नियन्त्रणमा रहेको गुआममा क्षेप्यास्त्र आक्रमण गर्न सकिने बताएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई ‘आगो र क्रोध’ मार्फत धम्क्याएको केही घन्टाभित्र उत्तरको सरकारी सञ्चारमाध्यमले पुरानो सैन्य वक्तव्यलाई उद्धृत गर्दै समाचार प्रसारण गरेको हो ।
उत्तरको आधिकारिक समाचार संस्थाले गुआममा मध्यमदेखि लामोसम्मको दूरीमा रकेट प्रहार गर्ने योजना बनाइरहेको उल्लेख गरेको छ । गुआममा अमेरिकाका बम्बर विमानहरू राखिएको छ ।
दुई देशका बीच यसरी शाब्दिक आक्रमण चर्केको छ ।
संयुक्त राष्टसंंघले हालै उत्तर कोरियामा थप आर्थिक नाकाबन्दी लगाउने प्रस्ताव पारित गरेको थियो जसलाई प्योङयाङले ‘हाम्रो सार्वभौमसत्तामाथिको जघन्य उल्लंघन’ भन्दै अमेरिकाले यसको ‘मूल्य चुकाउनुपर्ने’ चेतावनी दिएको थियो ।
बीबीसीबाट