०९ साउन २०८३, शनिबार
भूकम्पको कहर

मध्यरातमा डोटीलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प, घर भत्कँदा ६ जनाको मृत्यु

कात्तिक २३, २०७९
मध्यरातमा डोटीलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प, घर भत्कँदा ६ जनाको मृत्यु

मंगलवार मध्यरातमा सुदूरपश्चिमको डोटीमा गएको शक्तिशाली भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । 

मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।    घटनामा अन्य ५ जना घाइते भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले लोकान्तरलाई जानकारी दिए ।

प्रहरीका अनुसार, घर भत्किँदा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय  डोटीका डीएसपी भोलाकुमार भट्टले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार, घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

अन्य घाइतेको उद्दार गरिएको डीएसपी भट्टले बताए ।  

उनले भने,'८  वटा घर भत्किएको हो । तर मृत्यु भएकाहरू २ वटा घरमा हुनुहुन्थ्यो ।'

भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुस गरिएको छ । 

भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुस भएको जनाएको छ । भूकम्पपछि धनगढीमा सर्वसाधारण केहीबेर घरबाहिर निस्केका थिए ।

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो । 


salt training

कमेन्ट गर्नुहोस्