
‘दारी फुल्यो वैँशैमा’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’, ‘ए मुना’ लगायतका हिट गीतका गायक आशिष सचिनलाई ओएसआर डिजिटलले एक वर्षका लागि अनुबन्धित गरेको छ ।
ओएसआरले गायक आशिषलाई वार्षिक ३० लाख रुपैयाँ दिने गरी अनुबन्धित गरेको हो ।
सम्झौता अनुसार गायक आशिष सचिनले १ वर्षसम्म ओएसआर डिजिटलको निर्माण र ब्यानरमा बन्ने विज्ञापनका सामाग्री सहित म्यूजिक भिडियोमा काम गर्नुपर्नेछ ।
१ वर्षको अवधिमा ओएसआरसँग गायक आशिषले ८ वटा गीतसहित वर्षभरी आउने विज्ञापनको काम गर्नुपर्नेछ । पछिल्ला दिनमा गायक आशिषले लगातार ओएसआर मार्फत आफ्ना म्यूजिक भिडियो सार्वजनिक गरिरहेका छन् ।
गायन सँगसँगै म्यूजिक भिडियोको अभिनयमा समेत अब्बल मानिएका आशिषले अभिनय गरेको पछिल्लो म्यूजिक भिडियो ‘छमक छमक तेरी पाउजु’ले चर्चा बटुल्न सफल भएको छ ।
गायक आशिषको ‘दारी फुल्यो वैँशैमा’ बोलको गीतले करिब ९ करोड ७० लाख (९७ मिलियन) दर्शक पाइसकेको छ ।
जुन गीत नेपालमा सर्वाधिक बढी हेरिने र सुनिनेमध्येको गीत हो ।
गायक आशिष पछिल्ला दिनमा बढी माग हुने गायकका रुपमा पनि दह्रिएका छन् ।
देश विदेशका कन्सर्ट तथा महोत्सवहरुमा पनि उनको माग बढ्दो छ ।