२८ असार २०८३, आइतबार

मकवानपुरमा निर्वाचनको तयारी तीव्र

कात्तिक २३, २०७९
मकवानपुरमा निर्वाचनको तयारी तीव्र

आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा निर्वाचनको तयारी तीव्र पारिएको छ ।

प्रतिनिधि सभाका २ निर्वाचन क्षेत्र रहेको र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र रहेको मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचनको आवश्यक तयारी तीव्र पारेको जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी राति अबेरसम्म प्रत्येक मतदान केन्द्रमा पठाउने सामग्री तयार पार्ने र सिल गर्ने तथा मतदान केन्द्रमा कर्मचारी पठाउनेको विवरण तयार गर्ने लगायतका कार्य तीव्ररूपमा भइरहको बताइएको छ ।
 
अब केही दिनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसका लागि मतपत्र मतदान केन्द्रपिच्छे छुट्याएर राख्ने काम भइरहेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए । मकवानपुरका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र आइसकेको उनले बताए ।

समानुपातिकको मतपत्र पहिले नै आइसकेको र प्रत्यक्षतर्फको मतपत्र पनि आइतवार हेटौंडा आइपुगेको छ । निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक विभिन्न सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गरिने कार्यालयले जनाएको छ । 

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न सबैले निर्वाचन आचारसंहिताको पालना गर्नुपर्ने निरौलाले बताए ।

यसैबीच जिल्ला प्रशासन कार्यालयबाट जिल्लामा रहेका  मतदानस्थल र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन समेत भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारीे राजेन्द्रदेव पाण्डेको नेतृत्वमा मतदानस्थलको निरीक्षण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षाको अवस्थालाई ध्यानमा राखेर निरीक्षण गरिरहेको जानकारी दिए । उनले निर्वाचनलाई भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न वातावरण तयार भएकाले ढुक्क भएर निर्वाचन गर्न सबैलाई आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्