०१ साउन २०८३, शुक्रबार

विवादले रोकियो मेलम्चीको काम, दशैंमा पानी आउने सम्भावना टर्‍यो

कात्तिक २०, २०७४
विवादले रोकियो मेलम्चीको काम, दशैंमा पानी आउने सम्भावना टर्‍यो

काठमााडौं, २४ साउन – दशैंमा मेलम्चीको पानी प्रयोग गर्ने राजधानीवासीको सपना पूरा नहुने देखिएको छ । मेलम्ची खानेपानी आयोजनाको काम अवरुद्ध भएसँगै दशैंमा पानी राजधानी भित्रने सम्भावना टरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको काम विगत तीन दिनदेखि अवरुद्ध भएको छ ।

नेपाली निर्माण व्यवसायीले मेलम्चीको इटालीको ठेकेदार कम्पनी सिएमसिले समयमै भुक्तानी नदिएको कारणले निर्माण कार्य रोकेका छन् ।

गत वर्ष पनि भुक्तानी विवादमा मेलम्चीको सुरुङ खन्ने काममा अबरुद्ध भएको थियो । यो वर्ष पनि आफूले पाउने करोडौं रकम मुख्य ठेकेदारले भुक्तानी नगरेको भन्दै नेपाली निर्माण व्यवसायीले काम रोकेका छन् ।

परियोजनाको कार्यालयमा नेपाली पक्षले ताला लगाएका थिए तर प्रधानमन्त्री बुधबार स्थलगत अवलोकनमा जाने भएसँगै ताला खोलिएको छ तर काम भने शुरु हुन सकेको छैन ।

मेलम्चीको सुरुङ निर्माणको काम अन्तिम अवस्थामा पुगेका बेलामा किचलो निस्किएको हो । निर्माणमा किचलो निस्किएसँगै दशैं भित्रै काठमाडौंमा मेलम्चीको पानी झर्ने सम्भानवा टरेर पुस मसान्तमा सरेको मेलम्ची खानेपानी आयोजनाका एक अधिकारीले जानकारी दिए ।

विवाद मिलाउन प्रधामन्त्री निर्माणस्थलमा

मेलम्चीको विवाद सल्ट्याउन प्रधानमन्त्री शेरबहादुर देउवा विभागीय मन्त्रीलाई लिएर बुधवार मेलम्ची पुग्दैछन् ।

देउवाले परियोजना निर्माणको प्रगतिका बारेमा निरीक्षण गर्न लागेका हुन् । ‘भुक्तानीको विवाद मिलाउनको लागि प्रधानमन्त्रीले चासो देखाउनुभएको छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘विभागिय मन्त्रीलाई नै सोही ठाउँमा लगेर विवाद मिलाउन निर्देशन दिँदै हुनुहुन्छ ।’

स्रोतका अनुसार योजनाको मुख्य ठेकेदार र नेपाली निर्माण व्यवसायिबीच आजै वार्ता गराउने कोशिस हुँदैछ ।
मेलम्ची परियोजना विकास समितिले भुक्तानी किचलोका कारणले निर्माणको काम प्रभावित भएकोमा चिन्ता व्यक्त गरेको छ । परियोजनाले दशैंसम्म काम सकिँदैन कि भनेर चिन्ता प्रकट गरेको हो ।

सुरुङ र बाँध निर्माणको मुख्य जिम्मेवारी लिएको इटालियन कम्पनीलाई चाँडो भन्दा चाँडो विवाद समाधान गर्न निर्देशन दिएको परियोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए । देवकोटाका अनुसार चाँडो भन्दा चाँडो विवाद समाधानका लागि सरकारी पक्ष लागिपरेको छ ।

अझै परियोजनाको साढे दुई किलोमिटर सुरुङ खन्न बाँकी छ । मुस्किलले एक हप्तामा एक किलोमिटर सुरुङ निर्माण गर्न सकिन्छ ।

सुरुङ खनेपछि पनि बाँकी काम रहने भएकोले दशैं अगावै काठमाडौंमा पानी झार्नको लागि काम रोकिनु हुँदैन । हालसम्म २५ किलोमिटर भन्दा बढी सुरुङ खनिसकिएको छ ।

यसैबीच मुख्य ठेकेदार कम्पनीले आफूहरुका तर्फबाट नेपाली पक्षलाई कुनै पनि भुक्तानी दिन बाँकी नरहेको जनाएको छ । उसले भुक्तानी दिन बाँकी नरहेको दाबी गरेपनि नेपाली पक्षले भुक्तानी पाउनुपर्ने माग गर्दै आन्दोलन गरेको छ ।

करिव २३ अर्ब रुपैंयाको लागतमा निर्माणाधीन मेलम्ची आयोजनामा ४५ प्रतिशत भन्दा बढी लगानी एसियाली विकास बैंक (एडीबी)को छ।

सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडाैं ल्याउन  २७ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल झार्ने आयोजनाको लक्ष्य छ।

salt training

कमेन्ट गर्नुहोस्