
वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका चितवनका भूमिहीनका लागि जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) सधैंको चुनावी आश्वासन हुने गरेको छ ।
नजिकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा पनि पुरानै आश्वासन दोहोरिएको उनीहरूले बताए ।
लालपुर्जा दिने प्रतिवद्धता कार्यान्वयन गर्ने उम्मेदवारलाई मत दिने उनीहरुले बताएका छन् ।
चितवनमा अहिले जग्गाधनी प्रमाणपुर्जा माग गर्दै ४३ हजार दुई सय ८४ जनाले निवेदन दिएका छन् । उनीहरुले व्यवस्थित बसोबासको व्यवस्थापन मिलाउने उम्मेदवार खोजेको बताए ।
उम्मेदवारहरु मत माग्न आउँदा समस्या समाधान गर्न भनिएको नेपाल बसोबास बस्ती संरक्षण समाजका जिल्ला अध्यक्ष छविलाल देवकोटाले बताए ।
‘जसले हामीलाई पुर्जा दिन्छ उसैलाई भोट दिन्छौं’, उनले भने ।
भरतपुर महानगरपालिका–११ का भूमिहीन होमनाथ अधिकारी जग्गा पाउने आशमा छन् । उनी सार्वजनिक जग्गामा बसेको ३५ वर्ष भयो । उनले अहिलेसम्म आफ्नो नाममा जग्गा धनी प्रमाण पुर्जा पाएका छैनन् । उनले भने, ‘हाम्रो विषय सधैं चुनावमा भोट माग्ने मुद्दा मात्रै बनाइयो ।’
भूमिहीनको मुद्दा लिएर चुनाव जित्ने र बेवास्ता गर्ने उम्मेदवारलाई चुनावमा मत नदिने उनी बताउँछन्।
माडीको बाँदरझुलामा बस्दै आएका रामबहादुर स्याङ्तान आश्वासनको भारीले थाकेको बताउँछन् । उनल भने, ‘सधैं आवश्वास मात्रै पाइया । काम कहिल्यै भएन ।’
सरकार परिवर्तनसँगै बन्ने आयोग र आयोगले गरेका कामले पूर्णता नपाउँदा समस्याको निकास ननिस्किएको चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण भक्त पोखरेलले बताए ।
उक्त क्षेत्र बाट कांग्रेसका उमेश श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका रवी लामिछानेले उम्मेदवारी दिएका छन् ।
भरतपुरका आँपटारी, शारदानगर, गुञ्जनगर र गीतानगर तथा कालिका नगरपालिकाको जुटपानी, रत्ननगर र खैरहनी एवं राप्ती नगरपालिकामा रहेका भूमिहीनको समस्या उस्तै छ । माडी नगरपालिकाका बाँदरझुला र देवेन्द्रपुरमा बस्ने भूमिहीनको समस्या पनि एउटै छ ।
क्षेत्र नम्बर–१ मा सुरेन्द्र पाण्डे, विश्व पौडेल, हरि ढकाल प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । क्षेत्र नम्बर–३ मा डा. भोजराज अधिकारी, विक्रम पाण्डे, दिनेश कोइराला उम्मेदवार छन् ।
उनीहरू सबैले अहिले पनि भूमिहीनको समस्या समाधान गर्ने आश्वासन दिँदै मत मागिरहेका छन् । रासस