
काठमाडौं, २५ साउन — डोक्लाम क्षेत्रमा चिनियाँ र भारतीय सेनाका बीच विवाद कायम छ । यस्तोमा चिनियाँ राष्ट्रपतिले भारतका प्रधानमन्त्री मोदीप्रति कस्तो दृष्टिकोण राखेका होलान् भन्ने जिज्ञासा उठ्नु स्वाभाविक हो ।

अमेरिका चीन सम्बन्धका विज्ञ बोनी एस ग्लेसरको कुरा सुन्ने हो भने त सीले मोदीलाई भारतीय हितका लागि उभिने र दक्षिण एसियामा चीनलाई रोक्ने नेताका रूपमा हेर्छन् ।
सेन्टर फर स्ट्रटेजिक एन्ड इन्टरनेसनल स्टडीजमा आबद्ध ग्लेसरले एक अन्तवार्ताका क्रममा बताएअनुसार भारतले अमेरिका र जापानसँग मिलेर काम गर्न खोजेकाले चीन चिन्तित भएको छ ।
ग्लेसरका अनुसार चीनले भारतसँग तनावपूर्ण सम्बन्धका कारण आफूलाई कुनै लाभ नभएको आँकलन गरेको छ । दुवै देशका बीच लामो सीमा भएकाले चीनले लडाईं झगडामा फाइदा नदेखेको हो ।
उनका अनुसार चीनले धेरै अघिदेखि नै भारतलाई आफ्ना लागि एक मुख्य चुनौतीका रूपमा लिएको छ । तैपनि भारतबाट आफूलाई सैन्य चुनौती नरहेको चीनको विश्लेषण छ भन्छन् ग्लेसर ।
भारतसँगको परमाणु हतियार पनि आफ्ना लागि सुरक्षा चुनौती नभएको चीनको विश्वास छ तर भारतलाई उसले राजनीतिक खतराका रूपमा हेर्छ किनकि चीनलाई रोक्नका लागि भारतलाई पश्चिमी शक्तिहरूको सहयोग छ ।
एजेन्सी