तनहुँ जिल्लाको सुन्तला पकेट क्षेत्रका रुपमा परिचित म्याग्दे गाउँपालिका–२ स्थित उमाचोकमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।
अत्यधिक वर्षा र असिनाका कारण बगैंचामा लगाएको सुन्तला कुहिने र झर्ने समस्याले गर्दा उत्पादन घटेको हो ।
गत वर्ष गाउँबाट २ करोडको सुन्तला बिक्री गरे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको कृषक विश्वबहादुर अधिकारीले बताए ।
उनले गत वर्ष ५५ लाख रुपैयाँको सुन्तला बिक्री गरेको र यस वर्ष ५० प्रतिशत पनि सुन्तला बिक्री गर्न नसकिएको बताए । यस वर्ष बोटमा सुन्तलाको दाना राम्रोसँग नलागेपछि किसान निरास भएका हुन् ।
सुन्तला पाक्ने सिजनमा बगैंचामा लटरम्म फल्ने गरे पनि यसपटक भने उत्पादनमा आधा कमी आएको किसान निर्मल अधिकारीले जानकारी दिए ।
उनले गत वर्ष ३० लाख रुपैयाँको सुन्तला बिक्री गरेका थिए । उनले भने, ‘यसपटक ६/७ लाखको पनि कारोबार गर्न नसक्ने देखिएको छ ।’
यसपटक पानीले गर्दा सुन्तलाको उत्पादन राम्रो नभएका कारण त्यसक्षेत्रका किसान चिन्तित भएका उनले बताए । उमाचोकमा करीब ४० जना कृषकले सुन्तला खेती गर्दै आएका छन् ।