
नेपाली सेनाले फोटो प्रतियोगिता २०७९ सञ्चालन गर्ने भएको छ ।
नेपाली सेनाका विविध गतिविधिलाई फोटोको माध्यमबाट अभिलेख गर्ने तथा आवश्यक परेको समयमा उपयोग गर्न सहज बनाउने उद्देश्य अनुरूप आन्तरिक रूपमा फोटो प्रतियोगिता सञ्चालन गर्दै आइरहेकोमा गत वर्षबाट प्रतियोगितामा गैरसैनिक व्यक्तिलाई समेत समावेश गरी सञ्चालन गरिँदै आएको छ ।
प्रतियोगितामा सहभागी हुन आवश्यक फोटो तथा विवरणहरू गैरसैनिक व्यक्तिको हकमा आगामी मंसिर १४ गतेभित्र नेपाली सेनाको आधिकारिक वेबपेजभित्र रहेको लिंक https://photo.nepalarmy.mil.np/ मा अपलोड गर्नुपर्नेछ । प्रतियोगितामा २०७८ सालदेखि २०७९ सालसम्म खिचिएका तस्वीरलाई मात्र समावेश गरिनेछ ।
फोटो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने फोटोहरूलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः नगद ५० हजार रुपैयाँ, ३५ हजार रुपैयाँ र २५ हजार रुपैयाँ एवं प्रमाणपत्र प्रदान गरिनेछ भने त्यसबाहेक सैनिक तर्फका ७ र गैरसैनिक तर्फका २ गरी जम्मा ९ वटा थप उत्कृष्ट फोटोहरूलाई सान्त्वना पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँ प्रदान गरिने व्यवस्था गरिएको सेनाले जनाएको छ ।
प्रतियोगिता सम्बन्धी थप जानकारीका लागि निर्देशनालयको सम्पर्क नम्बर ९८४११०४९५७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।