
काठमाडौं, २५ साउन — फ्रान्सको राजधानी पेरिसस्थित एक सैनिक ब्यारेकमा बुधवार भएको आक्रमणमा ६ सैनिक घाइते भएका छन् । एउटा कार प्रतिआतंकवादी गस्तीमा जोतिन पुग्दा ती सैनिकहरू घाइते भएका हुन् ।

प्रहरीले कारचालकलाई खोजिरहेको छ । ऊ आक्रमण गराएपछि त्यहाँबाट भागेको थियो ।
स्थानीय समयअनुसार बिहान ८ बजे भएको घटनामा दुई सैनिक गम्भीर घाइते भएको बताइएको छ ।
उक्त कार बीएमडब्ल्यू रहेको र ब्यारेकबाट निस्किँदै गरेका सैनिकहरूको समूहमा जोतिएको अनि त्यहाँबाट तीव्र गतिमा भागेको पेरिस प्रहरीले बतायो ।
यी सैनिकहरू प्रतिआतंकवादी कारवाहीका लागि तैनाथ अपरेसन सेन्टीनेलका हिस्सा हुन् । सन् २०१५ मा पेरिसमा भएको आक्रमणपछि उनीहरूलाई तैनाथ गरिएको हो ।
यसअघि शनिवार १८ वर्षीय एक युवकलाई आईफल टावरमा छुरी हल्लाइरहेको अवस्थामा पक्राउ गरिएको थियो । ऊ ‘अल्लाहू अकबर’ चिच्याइरहेको थियो ।
पछि उसले प्रहरीलाई आफूले कुनै सैनिक मार्न चाहेको बताएको थियो ।
एजेन्सी