
सामाजिक व्यक्तित्व तिलकप्रसाद सापकोटाको शुक्रवार निधन भएको छ ।
उनको चितवनको नारायणी नदी किनारमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
कात्तिक २३ गते निधन भएका सापकोटाको शुक्रवार अन्त्येष्टि गरिएको छ ।
गैंडाकोट नगरपालिका–८ का स्थायी वासिन्दा सापकोटाको पार्थिव शरीरमा नेपाली कांग्रेसका नेता प्रा.डा. शशांक कोइरालाले नेपाली कांग्रेस पार्टीको र प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष टंकप्रसाद शर्मा कँडेलले सेनानी संघको झण्डा ओढाएर उनीप्रति सम्मान व्यक्त गरेका थिए । उनको अन्त्येष्टिमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र कँडेल, नेपाली कांग्रेस नवलपरासीका सभापति महेन्द्रध्वज जिसीलगायतका नेता, कार्यकर्ता र शुभचिन्तकहरूको ठूलो सहभागिता थियो ।
सापकोटालाई उनका छोराहरू विश्वप्रकाश, केशवप्रकाश, चूडामणि, कृष्ण, नारायण, कुलराज र विजय सापकोटाले दागबत्ती दिएको छन् । उनका २ श्रीमती, ७ छोरा र ४ छोरी छन् । छोराहरू देशबाहिर रहेकाले अन्त्येष्टि ढिलो गरिएको हो ।
राजनीतिक र सामाजिक क्षेत्रमा नवलपरासी जिल्लाका अग्रणी व्यक्तित्व सापकोटा दम रोगबाट पीडित थिए । विक्रम संवत् २००१ माघ १७ गते बाग्लुङको दमेकमा जन्मिएका सापकोटा नवलपरासीमा नेपाली कांग्रेसका अग्रज नेताका रूपमा चिनिन्थे ।