आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन–२०७९ को सुरक्षा अवस्थाका बारेमा प्रधानसेनापति प्रभुराम शर्माको निरीक्षण भ्रमण जारी छ ।
प्रधानसेनापति शर्माले आज मात्रै खोटाङको दिक्तेलस्थित गोरखनाथ गणको निरीक्षण भ्रमण गरी त्यहाँको वस्तुस्थितिका साथै निर्वाचनको एकीकृत सुरक्षा योजना कार्यान्वयनलगायत विविध विषयमा जानकारी लिए ।
सो क्रममा उनले सकल दर्जालाई सम्बोधन गर्दै नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त निर्वाचन सुरक्षासम्बन्धी जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिए ।
निरीक्षण भ्रमणका दौरान प्रधानसेनापति शर्माले खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरूसँग अन्तरक्रियासमेत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले आजै भक्तपुरको नगरकोटस्थित नेपाली सैनिक वार कलेजको निरीक्षण भ्रमण गरी आवश्यक निर्देशन दिए ।
उनले उक्त कलेज हाताभित्र निर्माण गरिएको पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण एवं एकता वाटिका, भङ्गेरी ग्रिन तथा भङ्गेरी मचानको समुद्घाटन पनि गरे ।