
चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा हिमालयन डिष्ट्रलरीको नाफा २.११ प्रतिशतले बढेको छ ।
बजारमा मन्दीको संकेत देखिए पनि कम्पनीले नाफा बढाउन सफल भएको हो ।
पहिलो त्रैमासमा कम्पनीको खुद नाफा २१ करोड ५७ लाख रुपैयाँ छ।
गोल्डेन ओक, ब्ल्याक ओकलगायत मदिरा उत्पादक हिमालयन डिस्टिलरी नाफा वृद्धिसहित चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको हो ।
कम्पनीको बिक्री १२.२९ प्रतिशतले बढेको छ।
कम्पनीले साउनदेखि असोजसम्म एक अर्ब ३८ करोडको मदिरा बिक्री गरेको छ।
यसमध्ये कम्पनीले ६२ करोड ६६ लाख रुपैयाँ अन्त:शुल्क सरकारलाई बुझाएको छ।
अन्त:शुल्कको दर बढाएका कारण यसबापत सरकारको खातामा जाने पैसा १७ प्रतिशतले बढेको छ।
कम्पनीको मूल्य आम्दानी अनुपात ६० गुणा छ भने प्रति सेयर नेटवर्थ २०१ रुपैयाँमा झरेको छ।
गत वर्ष प्रति सेयर नेटवर्थ २५५ रुपैयाँ थियो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ छ।