
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचन लड्ने घोषणा गरेका छन् ।
बहालवाला राष्ट्रपति जो बाइडनले अमेरिकालाई कमजोर बनाएको अनि आफूले देशमा गौरव र महानता फर्काउने भन्दै उनले राष्ट्रपति पदमा लड्नका लागि कागजात दाखिला गरेका छन् ।
फ्लोरिडाको पाम बीचमा रहेको मार–ए–लागो रिजोर्टमा विशाल भीडलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिका तथा अमेरिकी नागरिकले बेहोर्नुपरेको समस्याको फेहरिस्त प्रस्तुत गरे । बाइडन र डेमोक्रेटिक पार्टीले दुई वर्षको कार्यकालमा अमेरिकाको पतन गराएको उनले आरोप लगाए ।
‘अमेरिकालाई पुनः महान् र गौरवशाली बनाउनका लागि म अमेरिकी राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गर्छु,’ ट्रम्पले बताए । उनले त्यसो भन्दा उनका समर्थकहरू खुशीले चिच्याए ।
‘जो बाइडनले अर्को चार वर्ष कार्यकाल चलाउन नपाउने प्रत्याभूति म गर्नेछु,’ उनले दाबी गरे ।
सन् २०२४ मा सम्भवतः ट्रम्प र बाइडन नै राष्ट्रपति पदमा भिड्नेछन् ।