इन्डोनेसियाको बालीमा जी२० मुलुकहरूको शिखर सम्मेलनका क्रममा मंगलवार राति आयोजित रात्रिभोजमा चीनका राष्ट्रपति सी चिनपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटघाट भएको छ ।
दुई नेताले छोटो भेटघाटमा सामान्य कुराकानी गरेका थिए । रात्रिभोज सकिएपछि उनीहरूबीच कुराकानी भएको हो ।
रात्रिभोजमा मोदीको एकातिर अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन थिए भने अर्कातिर इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो थिए । अमेरिकाका राष्ट्रपति जो बाइडन रात्रिभोजमा सहभागी भएनन् ।
चीनका राष्ट्रपति आफैं इन्डोनेसियाली समकक्षीलाई अभिवादन गर्न पुगेका थिए । त्यही बेला आइपुगेका मोदीसँग पनि उनले कुराकानी गरे ।
गलवानमा भारत र चीनका सैनिकहरूबीच भएको हिंस्रक संघर्षपछि पहिलोपटक मोदी र सीबीच प्रत्यक्ष भेटघाट तथा कुराकानी भएको हो ।