०५ साउन २०८३, मंगलबार
प्रतिनिधिसभा सदस्य निर्वाचन

गगन थापाको चुनावी घरदैलोमा प्रदीप खड्का भेटिँदा ... [भिडियो]

‘गगन दाइले गरिरहेको काम ठीक लागिरहेको छ, उहाँलाई भोट गरौं’
कात्तिक ३०, २०७९
गगन थापाको चुनावी घरदैलोमा प्रदीप खड्का भेटिँदा ... [भिडियो]

काठमाडौंको ४ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार गगनकुमार थापाले बुधवार बुढानिलकण्ठ नगरपालिका–१२ कपन क्षेत्रमा घरदैलो गरे । चुनाव प्रचारको समयसीमा सकिन लाग्दा कांग्रेसका महामन्त्री समेत रहेका गगनले प्रचारप्रसारलाई थप सक्रिय बनाउँदै दिनभरजसो मतदातासामु पुगेर भोट मागे ।

दर्जनौं कार्यकर्ताका साथ घरदैलोमा दौडधुप गरिरहेको अवस्थामा गगनसामु टुप्लुक्क आइपुगे नेपाली चलचित्रका चर्चित अभिनेता प्रदीप खड्का ।

लामो कपाल, कालो चस्मा र कालो ज्याकेटमा सजिएका प्रदीपले गगनलाई शुभकामना दिए । उनले गगनका लागि भोट समेत मागे । 

‘दाइलाई कसरी बुझ्नुभएको छ ? त्योअनुसार स्वविवेक प्रयोग गरौं भन्छु,’ प्रदीपले भने, ‘आजसम्म गगन दाइले गरिरहेको काम ठीक लागिरहेको छ । भविष्यमा पनि उहाँजस्तै युवाहरूको आवश्यकता हो जस्तो लाग्छ भने गगन दाइलाई भोट गरौं ।’

यद्यपि आफूले पार्टीगत रूपमा भन्दा पनि गगन थापाप्रतिको विश्वासका आधारमा बोलिरहेको उनको भनाइ थियो । ‘म कुनै पार्टीगत हिसाबले कुरा गरिरहेको छैन । म व्यक्तिगत रूपमा गगन दाइलाई नजिकबाट चिनेर विश्वासको आधारमा बोलिरहेको छु,’ प्रदीपले भने ।

गगन थापाले पार्टीभित्रै पनि परिवर्तन गर्न खोजिरहेको र त्यो आफैंमा एउटा परिवर्तनको शुरूआत भएको प्रदीपको धारणा थियो । घरदैलोमा चकलेटी यी अभिनेतालाई भेट्दा कांगे्रसका कार्यकर्ताले सेल्फी समेत खिचे । त्यस आसपासका मानिसहरू समेत प्रदीपसामु झुम्मिए ।

लोकान्तरसँग कुरा गर्दै प्रदीपले आफू गगन थापाको घरदैलो भनेर नआएको यद्यपि अचानक भेट हुँदा खुशी लागेको बताए । 

कांग्रेसको पक्षमा खुल्न थालेका प्रदीप

यसअघि राजनीतिक विषयमा खासै नखुलेका प्रदीप यो निर्वाचनमा भने कांग्रेसको पक्षमा आफूलाई खुलाउँदै लगेका छन् । हालै उनी नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा सहभागी हुन नवलपरासी पुगेका थिए । उनले त्यहाँ सम्बोधन समेत गर्दै विनोद चौधरीका लागि भोट मागेका थिए ।

युवा पुस्तामाझ लोकप्रिय अभिनेता प्रदीपको पछिल्लो चलचित्र ‘प्रेम गीत–३’ले नेपालसँगै भारतमा समेत राम्रो व्यापार गरेको थियो ।

तस्वीरहरू : विश्वास खनाल 

salt training

कमेन्ट गर्नुहोस्