
बहुविवाहमा संलग्न रहेको भन्दै रूपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारी विरूद्ध उजुरी परेको छ ।
पाँचदलीय गठबन्धनका उम्मेदवार समेत रहेका कांग्रेस केन्द्रीय सदस्य खाँणको उम्मेदवारी खारेजी सहित कानुनी कारबाहीको माग गर्दै अधिवक्ता तारा बरालले रूपन्देही–३ को निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार उजुरी दर्ता भएको हो ।
‘खाँण बहुविवाहमा संलग्न रहेकाले प्रमाण पाइएकाले उजुरी दर्ता गरिएको हो’ बरालले भनिन्, ‘खाँणले गृहमन्त्री चलाउँदै गर्दा बहुविवाह गर्ने हजारौं जेलमा सडाउने काम गर्नुभएको छ । देशकै गृहमन्त्रीले रुपन्देहीमा दिलमाया खाँण, काठमाडौंमा मञ्जु खाँण नाम दर्ता भएकाले उक्त कुराको पुष्टि हुन्छ ।’
ठूला तथा सम्पत्ति वालाविरुद्धको मुद्दा तामेलीमा र सर्वसाधारणलाई जेलमा कोच्न नपाइने उनले बताइन् ।
निर्वाचन आयुक्तले सम्बन्धित जिल्लामा दर्ता गरेपश्चात प्रक्रिया अगाडि बढाइने भनेकाले रुपन्देही क्षेत्र नम्बर ३ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको उनको भनाइ छ ।
उजुरी बुझ्दै रूपन्देही–३ का मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले चुनाव चिन्ह वितरण भइसकेको अवस्थामा उजुरी माथिको छानबिन तथा कारबाही निर्वाचन आयोग काठमाडौंबाट हुने बताए ।
कोइरालाले आफुले उजुरी बुझेर आयोगमा पठाइदिने पनि जनाए ।
यो क्षेत्रमा सत्ता गठबन्धनबाट खाँण र एमाले राप्रपाबाट राप्रपा वरिष्ठ नेता दीपक बोहोरा प्रतिष्पर्धामा छन् ।