
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर-२ चुनावी नतिजामा बेलाबखत चमत्कार गर्ने ठाउँ हो । राजधानी शहरको अति सुगमदेखि दुर्गम भागसम्म समेटिएको यो निर्वाचन क्षेत्रमा प्रत्येक चुनावमा केही न केही नयाँ कुरा हुने गरेको छ । २०६४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका तत्कालीन शक्तिशाली महासचिव माधवकुमार नेपाललाई एक अपरिचित अनुहार झक्कु सुवेदीले पराजित गरेका थिए ।
काठमाडौं-२ मा यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कुन्तीदेवी पोखरेलले त्यस्तै माहौल बनाएकी छिन् । चुनाव अघि नै समाजसेवीको छवी बनाएकी कुन्ताले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेपछि प्रत्येक टोलमा पुगेर मतदातासँग अन्तरक्रिया गरेकी छिन् ।
गत स्थानीय तह निर्वाचनमा राप्रपा विजयी भएको शंखरापुर नगरपालिका काठमाडौं-२ मै पर्छ । नगरपालिका जितेको आधारमा राप्रपाले प्रतिनिधि सभा निर्वाचनमा जित निकाल्ने रणनीति बनाइरहेको छ ।

भ्रष्टाचार विरोधी अभियानलाई चुनावी एजेण्डा बनाएर कुन्ता चुनावी अभियानमा हिडेकी छिन् । राजेन्द्र लिङदेन राप्रपाको अध्यक्ष निर्वाचित भएपछि भ्रष्टाचार विरोधी अभियानलाई देशव्यापी बनाएका छन् ।
काठमाडौं क्षेत्र नम्बर-२ का शहरदेखि ग्रामीण बस्तीसम्म विकास पुर्याउने आफ्नो एजेण्डालाई मतदाताले मन पराएको कुन्ती बताउँछिन् । ‘साँखुको शाली नदी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने देखि जरसिहपौवा सम्ममा विकास गर्ने मेरो एजेण्डा छ’ कुन्ती भन्छिन् ।
काठमाडौं शंखरापुरकी नानीमैया श्रेष्ठ यसपटक आफूहरुले नयाँ उम्मेदवारलाई भोट दिने योजना बनाएको बताइन् । ‘कुन्तीमा केही नयाँ काम गरौं भन्ने जोस, जाँगर र सोंच देखियो, उनलाई मेरो शुभकामना छ’ श्रेष्ठले भनिन् ।