०९ साउन २०८३, शनिबार

रोल्पामा जाँड छानेर होइन, संघर्षबाट आएकी हुँ : ओनसरी घर्ती

रोल्पामा जाँड छानेर होइन, संघर्षबाट आएकी हुँ : ओनसरी घर्ती

पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले रोल्पामा जाँड छानेर आएको भन्दै गरिएको टिप्पणीप्रति दुःख व्यक्त गरेकी छन् । 

सत्ता गठबन्धनले बिहीवार काठमाडौंको कोटेश्वरमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जाँड छानेर नभई संघर्षबाट आएको र मुलुकको प्रमुख मध्येको एक सभामुख पद नैतिकता बचाएर इमान्दारितापूर्वक चलाएको बताइन् ।

‘हिजो पनि म जनतासँगै थिएँ, आज पनि सँगै छु र भोलि पनि सँगै हुने वाचा गर्दछु । म विगतमा व्यवस्था परिवर्तनका लागि संघर्षको भट्टिबाट खारिएर अघि बढेको रोल्पाली संघर्षशील चेली हुँ । अहिले म काठमाडौं–२ का लागि थपना उम्मेदवार होइन ।  देशभरका छोरीहरूका लागि आशाको, विश्वासको, भरोसा र भविष्यको एउटा सपना देख्ने उम्मेदवार हुँ । रोल्पामा जाँड छान्ने ओनसरी भनेर पनि कतिपयले सामाजिक सञ्जालमा भन्नुभएको मैले पढेको छु । तपाईंहरूलाई स्मरण गराउन चाहन्छु – निरंकुश राजतन्त्रका विरुद्ध व्यवस्था बदल्नका लागि पेटमा बच्चा हुँदा बन्दुक बोकेर हिँडेको अनुभव मसँग छ,’ घर्तीले भनिन् ।

घर्तीले निर्वाचन जितेपछि पनि काठमाडौं–२ को विकासका मुद्दा लिएर मतदाताको घरदैलोमा आउने प्रतिबद्धता जनाइन् । आफूले चुनावी घोषणापत्रमार्फत टनेल, स्पोर्ट सिटी, सम्पदा शहर लगायतका भिजन अघि सारेको भन्दै उनले प्रतिबद्धता जनाउँदै ती प्रतिबद्धता कार्यान्वयन गराउन आफूसँग प्रष्ट योजना रहेको उल्लेख गरिन् ।

निर्वाचनपछि गठबन्धनको बलियो सरकार हुने चर्चा गर्दै उनले आफ्ना प्रतिबद्धता पूरा गरेरै छाड्ने बताइन् । केपी ओलीको व्यवस्था सिध्याउने, संविधान सिध्याउने, लोकतन्त्रिक व्यवस्थामा प्राप्त अधिकारमाथि धावा बोल्ने हर्कतका कारण व्यवस्था जोगाउन र अवस्था फेर्न यो गठबन्धन बनेको उनको भनाइ थियो । 

अबको ५ वर्ष यही गठबन्धनले संघीय सरकार र प्रदेश सरकारको नेतृत्व गर्ने तथा जनतालाई विकास र समृद्धि दिने विश्वास व्यक्त गरिन् । तथ्यहरूले केपी ओलीको राष्ट्रवाद खोक्रो राष्ट्रवाद भन्दै घर्तीले बाहिर चुच्चे नक्साको हल्ला गरेर भित्रभित्रै ‘रअ’ प्रमुखसँग बालुवाटारमा मध्यरातमा मन्त्रणा गर्ने र चुच्चे नक्सा सहितको पाठ्यक्रम छाप्न रोक लगाउने काम ओलीले गरेको बताइन् ।

चुच्चे नक्सा छाप्ने निर्णय तत्कालीन नेकपाले गरेपछि बाध्यतामा परेर ओलीले क्याबिनेटबाट पास गरेको र ससदले सर्वसम्मतिले पारित गरेको बताइन् । ओलीकालका धेरै यस्ता नकारात्मक सूचकहरूको असर नेपाललाई भोलिका दिनमा अझ पर्ने बताइन् ।

दुवै छिमेकी र सिंगो विश्वसँग सन्तुलित र नेपालको हितमा हुने गरी सम्बन्ध कायम गरेर नेपालीको शिर उचो हुने काम गठबन्धनले गर्ने उल्लेख गरिन् । 
 
गणतन्त्रलाई थप संस्थागत गराउन, संघीयताको कार्यान्वयन गराउन, जनताको जीवनस्तरमा सुधार गर्दै सामाजिक न्याय कायम गराउन र नेपाली जनताले चाहेको द्रूतगतिको विकासका लागि आवश्यक कानून निर्माण गर्ने र संसदमा त्यसका लागि पैरवी गर्नु आफ्नो दायित्व कर्तव्य र प्राथामिकता हो भन्ने आफूले राम्रोसँग बुझेको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्