०२ असार २०८३, मंगलबार

चुनाव गराउन मनाङ पुगेका कर्मचारीको ग्यास सिलिन्डर बलेन, चिसोले सकस

चुनाव गराउन मनाङ पुगेका कर्मचारीको ग्यास सिलिन्डर बलेन, चिसोले सकस

हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । 

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । 

‘खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला,’ सदरमुकाम चामेबाट २ दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भने, ‘आगो बाल्न दाउरा किन्दा भारीको २ हजार पर्‍यो, समस्या टार्नै पर्‍यो ।’

केन्द्रमा ६ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य २ मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बा लगायत ठाउँमा बास बसेका छन् ।

चिसो बढेको र पानी समेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् । 

सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (४ हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताए । ‘यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,’ रेग्मीले भने ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताए । बुधवार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीवार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उनले बताए ।

‘यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । २ दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,’ उनले भने । नार गाउँमा चिसोले ग्यास नबलेको र ४ वटा दाउराकै १ हजार ५०० तिर्नुपरेको उनले बताए ।

निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक २ हजार ५०० दिन्छ । कार्यालय सहयोगीले १ हजार २०० पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको ६०० पाउँछन् । ‘एक गिलास तातोपानीको १०० पर्छ । सुगममा ६०० ले २ छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,’ उनले भने । 

मनाङमा २०० कर्मचारी खटिएका छन् । सिंगो नार्पाभूमि गाउँपालिकामा ४६८ मतदाता रहेका छन् । वडा नम्बर १ को कार्यालय नारगाउँमा ९६, वडा नम्बर २ को नार आधारभूत विद्यालयमा १०३ र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा १२० मतदाता छन् । 

फू गाउँअन्तर्गत वडा नम्बर ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नम्बर ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष ३ हजार २८१ र महिला ३ हजार ४९८ गरी कूल ६ हजार ७७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ ।

सबैभन्दा उचाइमा रहेको नार (४ हजार २०० मिटर ) मा धाराको पानी समेत जमेको मतदान अधिकृत बताउँछन् । – नवीन लामिछाने/रासस

salt training

कमेन्ट गर्नुहोस्