२२ असार २०८३, सोमबार

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आग्रह

आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरमा सम्पूर्ण तयारी पूरा गरी मतदानस्थलमा कर्मचारी तथा सुरक्षाकर्मी तैनाथ भएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले कुनै पनि डर, त्रासमा नपरी निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरिन् ।
 
जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताउँदै उनले मतदानस्थल तयार पार्ने काम सम्पन्न गरेको जानकारी दिइन् । प्रजिअ शर्माले भनिन्, “शान्ति सुरक्षाको पूर्णरूपमा सुनिश्चितता गरेका छौँ, भक्तपुरमा भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था गरेका छौँ, त्यसका लागि आवश्यक तयारी पूरा भएको छ, निर्धक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्दछु ।”

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चारवटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा दुई सय २२ मतदान केन्द्र निर्धारण गरिएको उनले जानकारी दिइन् । कर्मचारीका लागि भक्तपुरमा एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ । उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ ।

निर्वाचनका लागि भक्तपुरमा एक हजार सात सय ७६ निर्वाचन कर्मचारी खटिएका छन् । प्रत्येक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी खटाएको जानकारी दिँदै उनले निर्वाचनमा आठ सय ८६ म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी दुई हजार दुई सय १८ सुरक्षाकर्मी परिचालन गरिएको बताइन् । निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र तीनदेखि पाँच जनासम्म स्वयंसेवक खटिनेछन् ।

निर्वाचनको दिन कर्मचारीमा कुनै समस्या नआओस् भनेर अतिरिक्त १० प्रतिशत कर्मचारी थप तयारी अवस्थामा तालिम दिएर राखिएको छ । भक्तपुरमा कुल एक लाख ९४ हजार चार सय ३९ मतदाता रहेका छन् । भक्तपुरका कुल मतदातामध्ये महिला ९९ हजार सात सय ५१, पुरुष ९४ हजार छ सय ८३ र अन्य पाँच जना रहेका छन् । मतदानको दिन बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिँदै उनले पास भएका सवारीसाधनले मतदाता ओसारेको पाइएमा तत्कालै कारबाही गर्ने बताइन् ।

जिल्ला प्रशासन कार्यालयले मङ्सिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको छ । उनले निर्वाचनको दिनसम्म कहीँकतै मदिरा बिक्री वितरण गर्न नपाइने र मतदान सकिएपछि मतगणना नसकिएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण गर्न निषेध गरिएको बताइन् ।रासस

salt training

कमेन्ट गर्नुहोस्