
दाङमा साढे २ लाख बढी मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार ४ लाख १४ हजार ९४६ मतदातामध्ये ३ क्षेत्रमा गरी २ लाख ५० हजार ५४३ मत खसेको छ ।
दाङको १ नम्बर क्षेत्रमा १ लाख ३४ हजार ७३३ मतदातामध्ये ८० हजार ७००, २ नम्बर क्षेत्रमा १ लाख ३३ हजार ७४८ मतदातामध्ये ७९ हजार ४४६ र ३ नम्बर क्षेत्रमा १ लाख ४६ हजार ४७५ मतदातामध्ये ९० हजार १५० मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तुलसीपुर कारागार अस्थायी मतदान केन्द्रमा ३१४ मतदातामध्ये १३६ मत खसेको छ भने अस्थायी मतदान केन्द्र घोराहीमा ४२८ मतदातामध्ये १११ जनाले मतदान गरेका छन् ।
जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याई राति अबेरसम्म रुजु गर्ने काम सम्पन्न भएको र केही समयपछि मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दाङको १ नम्बर क्षेत्रको लमही नगरपालिका, २ नम्बर क्षेत्रको जिल्ला समन्वय समितिको हल घोराही र ३ नम्बर क्षेत्रको भू तथा जलाधार व्यवस्थापन कार्यालय तुलसीपुरमा मतगणना हुँदैछ । जिल्लामा प्रतिनिधि सभाका लागि ४३ उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४६ उम्मेदवार छन् ।