
जिप दुर्घटनामा परी घाइते भएका आठ प्रहरी र चालकको उद्धारका लागि हेलिकप्टर बोलाइएको छ ।
प्रहरी बोकेको भाडाको जिप आज बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर तीन प्रहरीको घटनास्थलमै मृत्यु भएको छ । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।
घाइते नौ जनाको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर बोलाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
जिल्ला सदरमुकाममा मतपेटिका पुर्याएर फर्कँदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३०० मिटर खसेको जनाइएको छ । रातभरि मतपेटिका ढुवानी गरिरहेको र चालकलाई अनिदो भएर दुर्घटना भएको हुनसक्ने प्रजिअ पन्थीको भनाइ छ ।