०१ असार २०८३, सोमबार

थप समयको मागः चिकित्सा विधेयक छलफल स्थगित, गम्भीर बन्दै डा केसीको स्वास्थ्य 

कात्तिक २०, २०७४
थप समयको मागः चिकित्सा विधेयक छलफल स्थगित, गम्भीर बन्दै डा केसीको स्वास्थ्य 
काठमाडौँ, २६ साउन - सांसदले अध्ययनका लागि थप समय माग गरेपछि महिला, बालिबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिमा पेश भएको चिकित्सा शिक्षा विधेयकबारे छलफल स्थगन भएको छ । samsad_1

आज बसेको समितिको पूर्ण बैठकमा सांसदले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३’ सम्बन्धमा गठित कार्यदलले पेश गरेको संशोधनसहितको प्रतिवेदनमा अध्ययन गर्नुपर्ने माग गरेपछि बैठकमा विधेयक पारित हुन सकेन । 

समितिका सभापति रञ्जुकुमारी झासमक्ष कार्यदलका सदस्य जीवन परियारले सरकारबाट सम्बन्धन दिई पूर्वाधार तयार भइसकेका मेडिकल कलेजलाई सञ्चालन अनुमति दिने आशयसहितको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियो । समितिले गत जेठ २९ गते विधेयकलाई अन्तिम रुप दिनका लागि ‘चिकित्सा शिक्षा कार्यदल’ गठन गरेको थियो । 

प्रतिवेदनमा संशोधन विषय 

विधेयकमा भौतिक पूर्वाधार तयार भई अस्पताल सञ्चालन गरेका मेडिकल कलेजलाई सम्बन्धन दिने प्रावधान राखिएको छ । अनशनरत प्रा डा केसीले भने आगामी १० वर्षभित्र उपत्यकाभित्र कुनै पनि मेडिकल कलेजलाई सञ्चालन अनुमति दिन नहुने अडान कायमै राख्नुभएको छ । कार्यदलले हरेक प्रदेशमा सरकारले सार्वजनिक शिक्षण अस्पताल सञ्चालन गर्ने र नभएका प्रदेशमा पाँच वर्षभित्र सञ्चालन गर्ने प्रावधान पनि विधेयकमा थपेको सांसद परियारले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “विधेयकको दफा १३ मा ‘यो ऐन प्रारम्भ हुनुभन्दा पहिले आशयपत्र प्राप्त गरिसकेका र आवश्यक भौतिक पूर्वाधार बनाई मापदण्ड पूरा गरी मेडिकल, डेन्टल, वा नर्सिङ विषयको अध्यापन गराउन मेडिकल कलेजलाई ऐनबमोजिम सम्बन्धन दिन बाधा पुग्ने छैन”, भन्ने वाक्यांश थपेका छौँ ।” 

यसअघिको विधेयकको दफा १३ मा मेडिकल कलेजलाई सम्बन्धन दिइने व्यवस्था छ । काठमाडौँ उपत्यकामा १० वर्षसम्म मेडिकल खोल्न नपाइने प्रावधान राखिएको छ । त्यसबाहेक विदेशी विद्यार्थीका लागि निर्धारण गरिएको सिटमा विदेशी विद्यार्थी भर्ना नभएमा नेपाली विद्यार्थीलाई भर्ना गर्दा नेपाली विद्यार्थीका लागि निर्धारण गरिएको शुल्कमा अध्ययन गराउनुपर्ने व्यवस्था थप गरिएको छ । अहिले विदेशी सिटमा विद्यार्थी भर्ना नभएमा उक्त सिट खाली हुन्र्छ । 

समितिका सभापति झाले शुक्रबारदेखि एक हप्ता संसद् बैठक स्थगत हुने भएकाले विधेयक पारित गर्न गरेको अनुरोधलाई अस्वीकार गरी सांसदले अध्ययनका लागि थप समय माग गर्नुभएको थियो । नेकपा(माओवादी केन्द्र)का निशा साहले अहिले समितिले विधेयक पास गर्नेबित्तिकै सबै समस्या समाधान नहुने भएकाले विस्तृत अध्ययन र छलफल नगरी अघि बढ्न नहुने विचार राख्नुभयो । नेपाली काँग्रेसका मुग्दा यादवले सभापतिले एक हप्ता संसद् बन्द हुने कारण देखाउँदै आजै विधेयक पास गर भन्नु गलत हो भन्नुभयो । नेकपा (एमाले)का राजेन्द्रप्रसाद पाण्डेले समितिले चिकित्सा शिक्षा विधेयकमा लामो समय खर्चिएकाले धेरै लम्ब्याउन नहुने धारणा राख्नुभयो । 

गम्भीर बन्दै प्रा डा केसीको स्वास्थ्य 

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले प्रा डा केसीको स्वास्थ्य गम्भीर बन्दै गएको जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “अहिले उहाँको मुटुको चाल बढेको छ । उहाँको रगतमा आवश्यक तत्वको कमी र अनावश्यक तत्व बढ्दै गएको छ । यस्तो अवस्थामा उहाँलाई एन्टिबायोटिक चलाउनुपर्ने अवस्था छ तर उहाँले मान्नुभएको छैन । मिर्गौलामा समस्या देखिन शुरु भएको छ ।” यस्तै अवस्था बढ्दै गएमा अनशनपछि पनि अपांगताको खतरा रहने उहाँको भनाइ छ । 
‘एक्सन प्लान बनाउनुस्’ 
स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफूले घोषणा गरेको २६ बुँदे कार्यान्वयन गर्नका लागि तत्काल एक्सन प्लान बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालय मातहतका क्षेत्रीय निर्देशकसँगका मन्त्री पोखरेलले सरकारी अस्पताल सुधार गर्न दीर्घकालीन कार्ययोजना बनाउन निर्देशन दिनुभएको हो । 

उहाँले २ नं प्रदेश र काठमाडौँ उपत्यकाका जिल्लामा रहेका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा गर्नुपर्ने कामको प्रक्रिया शुरु गर्न तथा अस्पताल प्रमुख चिकित्सक निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ । रासस 

 
 
 
 
 
 
 
 

salt training

कमेन्ट गर्नुहोस्