
सप्तरीमा बुबा र छोरा फरक-फरक पार्टीबाट सांसद भएका छन् । सप्तरी क्षेत्र नम्बर-२ को प्रदेशसभा-१ बाट प्रदेशसभा सदस्यमा जनमत पार्टीबाट सतिश सिंह निर्वाचित भएका छन् ।
सतिशले मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साहलाई पराजित गरेका हुन् । उनले अर्थमन्त्री साहलाई आठ हजार ४४२ मतान्तरले पराजित गरेका हुन् । सिंहले १६ हजार ७३४ मत ल्याएर विजयी हुँदा जनता समाजवादी पार्टीका साहले आठ हजार २९२ मत ल्याएका छन् ।
मधेश प्रदेशसभामा निर्वाचित सिंहका बुवा शेखर सिंह भने लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रियसभामा निर्वाचित भएर सांसद छन् ।
छोरा पनि यसअघि लोसपाबाटै २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिलाठी कोईलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तहको निर्वाचनमा पनि लोसपाबाटै गाउँपालिका अध्यक्षमा दोहोरिँदा पराजित भएका थिए ।
गाउँपालिका अध्यक्षमा पराजित भएपछि जनमत पार्टीमा प्रवेश गरेर रातारात प्रदेशसभाको टिकट पाएर उनी प्रदेशसभामा निर्वाचित हुन सफल भएका हुन्।