
विराटनगर । ताप्लेजुङमा मत गणना शुरू गरिएको छ । केहीबेर अघिदेखि मत गणना शुरू गरिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संघ तर्फको मत गणना शुरू गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन् । उनका अनुसार पहिला संघ तर्फको गणना सकिएपछि प्रदेशतर्फको गणना शुरू गरिनेछ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहानमात्र सदरमुकाम ल्याई पुऱ्याइएको थियो । फक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याइएको थियो
प्रतिनिधिसभा सदस्य पदमा एमालेका योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट माओवादीका खेलप्रसाद बुडाथोकीबीच मुख्य प्रतिस्पर्धा छ ।
यस्तै, प्रदेशसभामा प्रदेश १ (क) मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यता प्रदशसभा (ख) मा एमालेका गोपाल थोप्रा र गठबन्धनबाट काँग्रेसका खगेनसिं हाङ्गामबीच प्रतिस्पर्धा हुने अनुमान छ ।