
कतारमा जारी फिफा विश्वकप फुटबल–२०२२ अन्तर्गत समूह ‘सी’ मा रहेको पोल्याण्ड र मेक्सिकोबीचको खेल बराबरीमा सकिएको छ ।
दोहास्थित स्टेडियम–९७४ मा मंगलवार राति भएको खेलमा पोल्याण्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको हो । यस खेलसँगै दुवै टोलीले एक– एक अंक बाँडेका छन् ।
खेलमा कप्तान रोबर्ट लेवान्डोस्की खेलको ५८औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि पोल्याण्डले मेक्सिकोसँग अंक बाँड्नुपरेको हो । लेवान्डोवस्कीले कुना च्यापेर प्रहार गरेको फितलो सट मेक्सिकन गोलकिपर गुइलेर्मो ओचोआले उत्कृष्ट बचाउ गरे ।
मेक्सिकोका हेक्टर मोरेनोले लेवान्डोस्कीलाई फउल गर्दै पेनाल्टी क्षेत्रमा लडाएपछि रेफ्रीले पोल्याण्डलाई पेनाल्टीको अवसर दिएको थियो । यस बराबरीसँगै पोल्याण्डले पहिलो खेलमा एक अंक जोडेको छ ।
समूह ‘सी’ मा रहेको पोल्याण्ड दोस्रो स्थानमा रहेको छ । मेक्सिको एक अंक जोडेर तेस्रो स्थानमा रहेको छ । त्यस्तै साउदी अरेबिया तीन अंक जोडेर शीर्षस्थानमा छ भने अर्जेन्टिना अंकविहीन रहँदै पुछारमा रहेको छ ।