
काठमाडौं, २७ साउन – काठमाडौंको ढल्कुस्थित विष्णुमति नदीमाथि निर्माण सम्पन्न भएको फलामे पुल भाँचिएको छ । ढल्कु र नरदेवी जोड्नका लागि बनाइएको फलामे पुल भाँचिएको हो ।
काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको डेढ करोड लागतको पुल भाँचिएको हो । पुलको एक हप्ता पछि उद्घाटन गर्ने तयारी थियो । तर एक हप्ता अगावै पुल भाँचिएको छ ।
फलामको फ्रेममा स्ल्याब राख्दै गर्दा पुल भाँचिएको हो । फलामको फ्रेम राखेपछि अहिले सिमेन्टको स्ल्याब राख्ने काम भइरहेको थियो । स्ल्याब राख्दै गर्दा विहीवार साँझ पुल भाँचिएको हो ।
पुल भाँचिदा ५ जना कामदार घाइते भएको महानगरीय अस्थायी प्रहरी विट ढल्कुका प्रहरी सहायक निरीक्षक सञ्जयकुमार नेपालले बताए । उनले घाइतेहरुको उपचार भइरहेको जानकारी दिए ।
स्थानीय वासिन्दाले कमजोर निर्माण सामग्री प्रयोग गरेका कारण पुल भाँचिएको बताएका छन् । आवश्यकता नै नभएको ठाउँमा पुल निर्माण गरिएको र प्रयोग गरिएका सामग्री गुणस्तरहीन भएका कारणले पुल भाँचिएको स्थानीयको आरोप छ ।
निर्माण कम्पनीले चाहिँ स्ल्याबको भार फलामले थेग्न नसकेका कारणले पुल भाँचिएको जनाएको छ ।
हिम सगरमाथाका साइट इन्जिनियर रवीन श्रेष्ठले स्ल्याब राख्र्दै गर्दा पुल भार थेग्न नसकेर पुल भाँचिएको बताए । उनले मान्छे हिँड्नका लागि डिजाइन अनुसार नै पुल निर्माण भएको भएपनि निर्माणको अन्तिम चरणमा आएर पुल भाँचिएको बताए ।
उनका अनुसार पुल सडक विभागलाई हस्तान्त्रण गरिएको थिएन । के कारणले पुल भाँचिएको हो सो कारण पत्ता लगाउने कोशिश भइरहेको समेत पनि उनले बताए ।
उनका अनुसार केही दिन भित्रमै निर्माण कम्पनीले अर्को पुल बनाउने छ । हस्तान्त्रण नहुँदै पुल भाँचिएकोले पुल बनाउने जिम्मा फेरि पनि निर्माण कम्पनीकै हुनेछ ।
सडक विभागका एक अधिकारीका अनुसार पुल निर्माणमा लापरवाही भएको देखिएको छ । उनले भने, ‘पुल भाँचिनुमा निर्माण कम्पनी, त्यसमा प्रयोग भएका गुणस्तहीन सामानको प्रयोग आदी कारण हुन सक्छ ।’
हस्तान्तरण नभइसकेको अवस्थामा पुल भाँचिएकोले निर्माण कम्पनीले नै फेरि बनाउनुपर्ने नियम हुन्छ ।
उक्त पुल काठमाडौं दिगो सहरी विकास आयोजना अन्तर्गत हिम सगरमाथा कन्सट्रक्सन प्रालीले निर्माण गरिरहेको थियो ।
राजधानीको यातायात अस्तव्यस्ततालाई दिगो रूपमा समाधान गर्न भन्दै सरकारले ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’ शुरु गरेको थियो ।