
काठमाडौँ, २७ साउन- व्यवस्थापिका– संसद्को आजको बैठकमा सांसदहरुले सरकारले काठमाडौँ उपत्यकामा सडक विस्तारको क्रममा नागरिकको सम्पत्तिमाथि सरकारले धावा बोलेको भन्दै आपत्ति जनाए ।
सांसद विक्रमबहादुर थापालेसडक किनारमा रहेका र सडक विस्तारमा परेका जनताको घर जग्गा लिनै पर्ने भए उचित मुआब्जा दिन र उनीहरुको हकअधिकार प्रदान गर्नका लागि उचित कदम चाल्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका क्रममा नेपाली नागरिकले पाएको दुःख र ज्यादतिको समाधान गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
सांसद थापाले नेपालको सीमा मिचिएको विषयमा समेत भारत सरकारसँग प्रष्ट कुरा गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद प्रेम सुवालले बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य गर्न तत्काल बजेट परिचालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद अशोककुमार मण्डलले तराई– मधेसका विभिन्न जिल्लामा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सांसद डिम्पलकुमारी झाले सप्तरीको दर्जनाँै बस्ती डुबानमा परे पनि सरकारी निकायले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिन कुनै पहल नगरेकोमा गुनासो व्यक्त गर्दै मुग्लिन नारायणगढ सडक खण्डको दुरावस्था अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद श्रीप्रसाद जगेबुले पाँचथरको विभिन्न स्थानमा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
सांसद तारिणीदत्त चटौतले आमरण अनशनरत प्राडा गोविन्द केसीले उठाउनुभएको माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद चुडामणि विक जंगलीले फेवातालले चर्चेका जग्गा भूमाफियाले अतिक्रमण गरेको भए पनि अतिक्रमणकारीलाई कारबाही गर्नेतर्फ ध्यान नदिइएको बताउँदै नेपालको गहनाका रुपमा रहेको फेवाताललाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्न र पर्यटकीय क्षेत्रको अतिक्रमणलाई हटाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समय
यस्तै शून्य समयमा सांसदहरुले स्थानीय तथा राष्ट्रिय समस्या समाधानका लागि सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उनीहरुले प्राडा गोविन्द केसीको अनशनका कारण परेको प्रभाव, नेपाल आयल निगमको जग्गा खरिदमा भएको भ्रष्टाचार, अस्थायी शिक्षकको जारी अनशनलगायतका विषयमा सरकारलाई ध्यान दिन आग्रह गर्नुभयो ।
यसरी ध्यानाकर्षण गराउने सांसदहरुमा कृपाराम राना, कृपासुर शेर्पा, कृष्णभक्त पोखरेल, गोमा कुँवर, गौरीकुमारी ओली, चन्द्रकान्त भण्डारी, जगदिश्वरनरसिंह केसी, जीवनबहादुर शाही, तप्तबहादुर विष्ट, डिल्लीप्रसाद काफ्ले, तुलसा रानालगायत हुनुहुन्थ्यो । रासस