
दीपकबहादुर सिंह राजनीतिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका माध्यम तहका नेता हुन् । अर्थात् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा हुँदा थापाका कार्यकर्ता हुन् ।
विसं २०७८ माघमा राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए । कमल थापाले राप्रपा नेपाल गठन गरे पनि दीपकबहादुर सिंह भने लिङदेनसँग राप्रपामै रहेका थिए ।
दीपकबहादुर सिंह मकवानपुर जिल्लाका पूर्वसभापति हुन् । २०६१ सालमा उनलाई जिविस सभापतिमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले मनोनीत गरेका थिए ।
उनै सिंह मकवानपुर निर्वाचन नम्बर- १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई पछि पार्दै राप्रपाका दीपकबहादुर सिंह निर्वाचित भएका हुन् ।
हार स्वीकार गरिसहेका कमल थापा तेस्रो स्थानमा छन् । शुरुआती गणनामा पछि परेका सिंह अन्तिम चरणमा अग्रस्थानमा आएका छन् ।
निर्वाचित सिंहले २७ हजार ८१६ मत ल्याउँदा डिनाले २५ हजार ४३४ मत पाएकी छन् । एमालेको समर्थन रहेका कमल थापाले २५ हजार ४२० मत पाएका छन् ।
सिंहको जन्म २०१५ सालमा धनकुटामा भए पनि उनी ७/८ वर्षको हुँदा आमाबुबासँगै हेटौँडा आएका थिए । विजयी भएका सिंह २०५४, २०५६, २०७० र २०७९ सालको स्थानीय निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहे पनि पराजित हुँदै आएका थिए ।
यता, महालक्ष्मी उपाध्याय (डीना ) २०४८, २०५१, २०५६ , २०७४ र अहिलेको निर्वाचन गरी पाँच पटक पराजित भएकी छन् । मकवानपुर क्षेत्र नं-१ मा बहुदल स्थापनापछि भएको प्रतिनिधि सभाको निर्वाचनमा ०७४ को निर्वाचनसम्म नेकपा एमाले हाबी हुँदै आएको थियो । सो क्षेत्रमा २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजय भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो ।
योसँगै सत्तारुढ गठबन्धन मकवानपुरका २ वटै प्रतिनिधिसभा सदस्यमा पराजित भएको छ ।