०४ असार २०८३, बिहीबार

दरबारिया सुसारेको घरबाट यसरी लुटियो सुनको गिलास र हिराका हार

दरबारिया सुसारेको घरबाट यसरी लुटियो सुनको गिलास र हिराका हार

आफ्नै आफन्तको घरमा लुटपाट गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसरले बिहीबार पत्रकार सम्मेलन गरेर काठमाडौं महानरपालिका–३ मधुर विक्रम खनालको घरमा कातिक २८ गते लुटपाट गर्ने १० जनालाई सार्वजनिक गरेको हो । 

खनालकी श्रीमती नन्द मल्ललाई रडले हानेर घाइते बनाएर घरमा भएको सुन र हिराका हारसहित लुटपाट भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार कातिक २८ गते बेलुका पौने १० बजेतिर ७/८ जनाको समूहले नन्दा लगायतका उनको घरमा काम गर्नेलाई रडले हानेर घाइते बनाएर चोरी गरेका थिए । नन्दा अहिले उपचारको लागि अस्पतालमा छिन् । 

उनको घरमा चोरी गर्ने उनकै आफन्त रहेको काठमाडौं परिसरका प्रमुख एसएसपी भरत बोहराले बताए । उनका अनुसार आफन्तले लामो समयदेखि योजना बनाएर नन्दाको घरमा चोरी गरेको बताएको छ । 

‘प्रारम्भिक अनुसन्धानमा घटनामा पक्राउ परेका आफन्त भएको खुलेको छ, आफन्तको धन सम्पत्ति देखेर लामो समयदेखि योजना बनाएर लुटपाट गरेको देखिएको छ,’ एसएसपी बोहराले भने । 

पीडित नन्दाले लामो समय राजाको दरबारमा सुसारेको रूपमा काम गरेकी थिइन् । त्यहाँबाट उनले बक्सिसमा पाएका हिराका गहना, सुनको गिलासलगायत धनमाल चोरी गरेका हुन् । 

प्रहरीका अनुसार चोरले उनको घरबाट सुन र ९ वटा हिराका हार चोरी गरेका थिए । त्यसमध्ये प्रहरीले ३८.५ तोलाको सुनको गिलास, हिराको हार ३ थान, सुनको तिलहरी, नगद दुई लाख १३ हजार रुपैयाँ बरामद गरेको छ ।

प्रहरीले जुम्ला हिमा गाउँपालिका–१ का २० वर्षीय विशाल शाही, कालिकोट तिलागुफा नरपालिका–११ का २४ वर्षीय तिलकबहादुर शाही, रामेछाप दोरम्बा गाउँपालिका–६ का २४ वर्षीय सुवर्ण मगर, कालिकोट खाणाचक्र नरपालिका–९ का वर्ष २९ का धनबहादुर शाही, महावै गाउँपलिका–२ ३२ वर्षीय पर्वराज सिंह, तिलागुफा कै २३ वर्षीय गङ्गाबहादुर शाही, खाणाचक्र कै नेत्रबहादुर शाही, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का १९ वर्षीया कविता बुढा, कालिकोट महावै कै २७ वर्षीय पवन भन्ने पञ्चबहादुर सिंह र विरेन्द्रनगरकै २१ वर्षीया दीपिका मल्ल शाही छन् । 

प्रहरीले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । 

प्रहरीका अनुसार १९ वर्षीया कविता बुढाले नन्दाको घरमा काम गर्दै आएकी थिइन् । घरमा भएको सूचना उनले बाहिर रहेका अन्यलाई पुर्‍याउँदै आएकी थिइन् । घटनाको दिन पनि चोरहरूलाई घरभित्र पस्नको लागि उनले सहयोग गरेको देखिएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्