
कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक–वाम गठबन्धनका प्रतिनिधिसभाका विजयी उम्मेदवार नारायणप्रकाश साउदले जनताको विश्वासलाई कायम राख्दै अगाडि बढ्ने बताएका छन् ।
आज शुक्लाफाँटा नगरपालिका–१० झलारीमा आयोजित विजयी जुलुसलाई सम्बोधन गर्दै उनले निर्वाचनका क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताए । गठबन्धनको सरकार निरन्तर जारी रहने उल्लेख गर्दै उनले देश विकासको गतिमा अगाडि बढ्ने बताए । “गठबन्धन भत्किँदैन”, उनले भने, “विकासका लागि सरकारको स्थायित्व आवश्यक हुन्छ, त्यसका लागि गठन्धन आवश्यक छ ।”
नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकार पाँच वर्ष काम गर्ने उनले बताए । चुनावका बेला जनतासँग गरेको सङ्कल्प पूरा गर्ने नेपाली कांग्रेसका प्रदेशसभाका विजयी उम्मेदवार बहादुरसिंह थापाले बताए । नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका विजयी उम्मेदवार ओमविक्रम भाटले मतदातासँग गरेका वाचा पूरा गर्ने बताए । प्रतिबद्धतापत्रमा उल्लेख गरेका कुरा अक्षरशः पूरा गर्ने उनको भनाइ थियो ।
निर्वाचन क्षेत्र नं २ का विजयी उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयबाट विजयी जुलुस निकालेर लोकतान्त्रिक–वाम गठबन्धनको कार्यालमा पुगेर समापन गरिएको थियो ।