०३ असार २०८३, बुधबार

नवलपरासी २ : कांग्रेसले एमालेको ३ दशकको विरासत भत्कायो

नवलपरासी २ : कांग्रेसले एमालेको ३ दशकको विरासत भत्कायो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले नेकपा एमालेको ३ दशक लामो विरासत भत्काएको छ ।

सत्ता गठबन्धनका दलका साथ पाएर उम्मेदवार बनेका कांग्रेस नेता विष्णु कार्कीले एमालेको ३० वर्षे विरासत भत्काएका हुन् ।

गत आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनको अन्तिम मतपरिणाम शुक्रवार सार्वजनिक हुँदा कांग्रेसका उम्मेदवार कार्कीले एमालेका उम्मेदवार तिलबहादुर महत क्षेत्रीलाई २ हजार २१ मतान्तरले पराजित गरेका थिए । यहाँबाट निर्वाचित कार्कीले ३६ हजार १०४ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी एमालेका क्षेत्रीले ३४ हजार ८३ मत पाएका छन् ।

नवलपुरको २ नम्बर निर्वाचनबाट विक्रम संवत् २०४८ सालको निर्वाचनमा एमालेका उम्मेदवार मोजीलाल थनेत थारू निर्वाचित भएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा एमालेका चन्द्रमणि खराल यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

विक्रम संवत् २०५६ सालमा भएको आमनिर्वाचनमा एमालेका तर्फबाट पुनः मोजीलाल थनेत थारू निर्वाचित भए । पहिलो संविधानसभा सदस्यको निर्वाचन २०६४ मा एमाले तेस्रो शक्ति बन्दा समेत यस क्षेत्रबाट एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल निर्वाचित भएका थिए ।

दोस्रो संविधानसभा सदस्यको निर्वाचन २०७० मा एमालेकै जीवन श्रेष्ठ तथा आमनिर्वाचन २०७४ मा एमालेका तिलबहादुर महत क्षेत्री निर्वाचित भएका थिए ।
 
उनै क्षेत्री अहिले संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार कार्कीसँग २ हजारभन्दा बढी मतान्तरले पराजित भए । एमालेको ३ दशकभन्दा लामो विरासत भत्काउनु सानो उपलब्धि नभएको कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी बताउँछन् । ‘यहाँ एमालेको राम्रो प्रभाव रहेको छ, प्रदेशको दुवै क्षेत्र एमालेले जितेको अवस्थामा संघ हामीले जित्नु ठूलो उपलब्धि हो,’ जिसीले भने, ‘यो जीतलाई आगामी दिनमा कायम राख्नका लागि हामीलाई अझ बढी चुनौती थपिएको छ ।’
 
यहाँको दुवै प्रदेशसभामा एमालेका उम्मेदवारले ठूलो मतान्तरले जीत निकालेका थिए । प्रदेशमा जितेको पार्टी संघमा हार्दा सांगठनिक रूपमा एमालेलाई धक्का लागेको पार्टीका जिल्ला अध्यक्ष रोशबहादुर गाहा मगरले बताए ।

‘पार्टीले नसोचेको निर्वाचन क्षेत्रमा हार व्यहोरेको छ,’ मगरले भने, ‘हामी यहाँ के कारणले हार्‍यौं भन्ने विषयमा हामीले पार्टीको समीक्षा बैठकमा निर्णय गर्नेछौं ।’ सांगठनिक रूपमा बलियो भए पनि हार्नुको कारण खोतलिने मगरको भनाइ छ ।

नवलपुर–२ मा अघिल्लो निर्वाचन २०७४ मा कार्की १ हजार ३०३ मतले क्षेत्रीसँग पराजित भएका थिए । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्