१७ असार २०८३, बुधबार

सत्ता पक्षको दाबी : संशोधन पारित हुन्छ, एमाले भन्छ– कुनै हालतमा पारित हुँदैन

कात्तिक २०, २०७४
सत्ता पक्षको दाबी : संशोधन पारित हुन्छ, एमाले भन्छ– कुनै हालतमा पारित हुँदैन


काठमाडौं, साउन २७- वाणिज्यमन्त्री मीन विश्वकर्माले अबको संसद बैठकमा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश भई पारित हुने ठोकुवा गरेका छन् । प्रस्तावको पक्षमा आवश्यक मत पुग्ने बताउँदै भने,‘आइतबारको संसद बैठकमा संशोधन प्रस्ताव प्रक्रियामा लगी निर्णयार्थ पेश हुन्छ र पारित पनि हुन्छ ।’

प्रस्तावको पक्षमा प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि आउने दाबी गर्दै त्यसबारे आन्तरिक छलफल भइरहेको खुलासा समेत गरे । एमालेका सामु प्रस्तावको पक्षमा जानुको विकल्प नभएको मन्त्री विकको भनाई थियो । उनले भने,‘एमालेका लागि संविधान संशोधन प्रस्ताव निल्नु न ओकल्नु भइसक्यो ।’ राजनीतिक सहमति गरेर अगाडि बढ्ने नीतिका साथ सरकार लागेको बताए ।

साक्षात्कारमा मंसिरको पहिलो हप्ताका लागि प्रदेश र संसदको चुनाव एकैसाथ गर्नेगरी घोषणा हुने खुलासा गरे । सरकार एकै चरणमा चुनाव गर्ने पक्षमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अगाडि चुनावको मिति घोषणा हुने बताए । सरकारले राजनीतिक माहोल मिलाइसकेको र निर्वाचन आयोगले प्राविधिक र जनशक्तिको विषय टुंगो लगाएपछि चुनावको मिति घोषणा हुने बताए । एकै चरणमा चुनाव गर्दा प्रमुख प्रतिपक्षी एमालेको समेत चित्त बुझ्ने भएकाले त्यसबारे राजनीतिक सहमति बनिसकेको बताए । चुनाव एकै चरणमा गर्दा मतपेटिका, कर्मचारी र प्राविधिकको संख्या चार गुणा बढी हुने भएकाले चुनौती रहेपनि सरकारले चुनाव गरेरै छाड्ने बताए ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने ठोकुवा गरे । नेकपा एमालेसँग परामर्श विना सरकारले संविधान संशोधनको मस्यौदा बनाएको भन्दै राजनीतिक दाउपेचको विषय बनाएकाले आफूहरू पक्षमा जान नसक्ने बताए । उनले भने,‘एमालेसँग परामर्श विना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो । पछिल्लो समय दलहरूबीच दूरी बढाउने र देशमा नयाँ धु्रवीकरण गराउने खेलहरू भइरहेको बताए ।

ज्ञवालीले भने,‘संविधान संशोधन प्रस्तावलाई राजनीतिक कार्डका रूपमा प्रयोग गरी एमालेलाई एम्बुसमा पार्ने, मधेशविरोधी देखाएर प्रोपोगाण्डा गर्ने र तराईको सेन्टिमेन्ट जित्ने रणनीति लुकेको छ । संविधान संशोधन प्रस्ताव बारे एमाले गम्भीर छलफल गरेर अगाडि बढ्न तयार भएको उनको भनाई थियो ।

माओवादी केन्द्रका नेता तथा पूर्व कानुनमन्त्री अजयशंकर नायकले संविधान संशोधन प्रस्ताव पारित हुने बताए । राष्ट्रिय सहमति बनाएर प्रस्ताव पारित गर्ने प्रयास भइरहेको खुलाए । उनले भने,‘राष्ट्रिय सहमति गरेर संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।’ नेकपा एमालेलाई राष्ट्रिय सहमतिको बाधक बनेको आरोप लगाउँदै देश र जनताको हितका लागि जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरे । प्रमुख प्रतिपक्षीले आफ्नो भूमिका सही ढंगले ननिभाएकाले संकट समाधानमा ढिलाई भइरहेको बताए । उनले भने,‘एमालेले प्रमुख प्रतिपक्षीको दायित्व निभाउनुपर्नेमा निभाएन । गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइरहेको छ ।’

राजपा चुनावमा आउने वातावरण बनेको बेला अड्को थाप्न नहुने बताए । चुनाव कसैले जस लिने र अपजस लिने विषय नभएकाले स्वार्थको विषय बनाउन नहुने बताए । संविधान संशोधनको विषयमा एमालेले भित्र एउटा गर्ने र बाहिर अर्को बोल्ने गर्दै आएको आरोप लगाए । एकै चरणमा चुनाव हुनुपर्नेमा उनको जोड थियो । चुनावमा माओवादी केन्द्रले सरकारमा भएका र सरकारलाई समर्थन दिएका दलहरूसँग तालमेल गर्ने सम्भावना औल्याएँ ।

राष्ट्रिय जनता पार्टीका शिर्ष नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने ठोकुवा गरे । एमालेलगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने बताए । उनले भने,‘हैर्दैजानुहोस् एमालेलगायतका दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पारित हुन्छ हुन्छ ।’ एमालेले बाहिर बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र भित्र सहमतिको पक्षमा आइसकेको खुलाए ।

salt training

कमेन्ट गर्नुहोस्