
रौतहट ३ बाट विजयी भएका स्वतन्त्र सांसद प्रभु साहलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोन गरेर बधाई दिएका छन् । शुक्रवार प्रचण्डले फोन गरेर साहलाई बधाई दिएका हुन् ।
साहसँगै उनकै सहयोगी किरण साह पनि रौतहट २ बाट प्रतिनिधि सभामा विजयी भएका थिए ।
माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । एमालेको टिकट लिएपनि अन्तिममा प्रभुले स्वतन्त्र उम्मेदवारी दिएपछि त्यो ठाउँमा एमाले उम्मेदवारबिहीन बनेको थियो ।
स्वतन्त्र उम्मेदवारी दिएका साहलाई माओवादीले समर्थन गरेको थियो । उसो त विजयी भएका किरणलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि फोन गरेका थिए ।
‘प्रचण्डले फोन गरेर बधाई दिनुभयो, काठमाडौंमा आएर कुरा गरौला भनेँ’ साहले लोकान्तरसँग भने । प्रचण्डबाट बधाई लिनेबाहेक अरु कुरा नभएको र काठमाडौंमा गएर आवश्यक पर्दा उचित निर्णय लिने साहले बताए । नयाँ सरकार गठनका लागि साहसहितका दुई सांसदको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरुलाई फकाउन दलका नेताले फोन गर्न सुरु गरेका छन् ।