
कोरोना महामारीमा थला परेको आर्थिक क्षेत्रलाई चलायमान गराउन रुपन्देहीको तिलोत्तमा मणिग्राममा मंसिर १५ गतेदेखि दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।
तिलोत्तमा उद्योग व्यापार संगठनको आयोजनामा मेला हुन लागेको हो ।
स्वदेशी उत्पादनको प्रबद्र्धन आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुर्याउनुका साथै आयात प्रतिस्थापन गर्ने उद्देश्य रहेको मेलामा स्वदेशी तथा विदेशी उद्योगबाट उत्पादित सामानका विभिन्न प्रकृतिका ३०० स्टलहरू रहने मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । मेलाको तयारी करीब ७५ प्रतिशत पूरा भएको संयोजक जीएमले बताए ।
महिला कुस्ती, मम्मी डान्स, तिलोत्तमा डान्स आइडल तथा विभिन्न विधाका प्रतियोगिताहरू राखिने मेलामा करीब ५ लाख दर्शक/उपभोक्ता भित्र्याएर २५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
मेला अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, विद्यालय स्तरका नृत्य प्रतियोगिता, आकर्षक सेल्फी जोन र प्यागोडा शैलीको प्रवेशद्वार आकर्षणको रूपमा रहने आयोजकको भनाइ छ ।