०४ साउन २०८३, सोमबार

भेनेजुएलासँग झुक्यो अमेरिका, तेल कारोबारमा प्रतिबन्ध हटायो

मंसिर ११, २०७९
भेनेजुएलासँग झुक्यो अमेरिका, तेल कारोबारमा प्रतिबन्ध हटायो

लामो समयसम्म भेनेजुएलामाथि विभिन्न किसिमका प्रतिबन्धहरू लगाइरहेको अमेरिका अहिले आएर झुकेको छ । 

अमेरिकाको ट्रेजरी डिपार्टमेन्टले शेभरोन नामक बहुराष्ट्रिय ऊर्जा कम्पनीलाई भेनेजुएलाको तेल अमेरिका भित्र्याउन अनुमति दिएको छ । भेनेजुएलाका विपक्षी तथा सरकारबीचको वार्तामा सकारात्मक मोड आएपछि प्रतिबन्ध फुकाएको डिपार्टमेन्टको भनाइ छ । 

भेनेजुएला सरकारलाई चाहिँ अमेरिकाले अहिलेसम्म पनि मान्यता दिएको छैन । 

डिपार्टमेन्टले शनिवार जारी गरेको विज्ञप्ति अनुसार, शेभरोन कर्पोरेसनले भेनेजुएलामा सीमित मात्रामा प्राकृतिक स्रोत उत्खनन गर्न अनुमति पाएको छ । तर यसबापत शेभरोनलाई हुने नाफा भेनेजुएला सरकारले दिन नपाउने शर्त उसले राखेको छ । 

भेनेजुएलाबाट निकालिएको तेल अमेरिकामा मात्र निर्यात गर्न पाइने तथा यसबाट हुने नाफा शेभरोन एक्लैले पाउने शर्त पनि छ । अहिले शेभरोनले भेनेजुएलाको राज्यनियन्त्रित तेल कम्पनी पेट्रोलियोस दे भेनेजुएला एसएसँग मिलेर काम गरिरहेको छ । 

शेभरोनले भेनेजुएलाबाट कति तेल निकालेर अमेरिका निर्यात गर्न पाउँछ भनी खुलेको छैन । यसले विश्वव्यापी तेलको मूल्यमा कति असर पर्छ भन्ने पनि थाहा हुन सकेको छैन । 

भेनेजुएलालाई अमेरिकाले विगत १५ वर्षदेखि प्रतिबन्ध लगाइरहेको छ । देशका राष्ट्रपति निकोलस मदुरोलाई समेत उसले मान्यता दिएको छैन । मदुरोको साटो संसद्का सभामुख खुवान गुआइडोलाई देशका अन्तरिम शासकका रूपमा अमेरिकाले मान्यता दिएको छ । 

रुस–युक्रेन द्वन्द्वका कारण रुसी तेलको विकल्प खोज्ने क्रममा अमेरिका भेनेजुएलासँग झुक्न बाध्य भएको हो । 

कमेन्ट गर्नुहोस्