
गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणले अब पनि पाँच दलीय गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । रूपन्देही क्षेत्र नम्बर ३ बाट पराजित भएपछि आइतवार भैरहवामा पाँच दलीय गठबन्धनको बैठकमा नेता निर्वाचनको सिट संख्या हेर्दा गठबन्धन दलको बहुमत पुग्दै बताउँदै पाँच वर्षसम्म गठबन्धन जाने बताए ।
खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच दलका शीर्ष नेता बसेर टुंग्याउने बताए । ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ’, उनले भने, ‘प्रधानमन्त्री को बन्ने भन्ने प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी बसेर टुंग्याउनुहुन्छ । पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’
प्रतिनिधि सभा सदस्यमा पराजित खाणले आफूले निर्वाचनको नतिजालाई सहजतापूर्वक लिएको प्रतिक्रिया दिए । ‘निर्वाचनमा पराजयलाई सहजतापूर्वक लिन गाह्रो हुन्छ । तर, म कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुँ । तसर्थ जनताको अभिमतलाई सहर्ष स्वीकार गर्छु’, गृहमन्त्री खाणले भने ।
आफू गृहमन्त्री भएको बेलामा भएको निर्वाचनमा आफै उम्मेदवार हुँदा जनताले दिएको अभिमतलाई सहजतापूर्वक स्वीकार गर्नु गृहमन्त्रीको पहिलो दायित्व भएको भन्दै उनले त्यो दायित्व आफूले सहजतापूर्वक पूरा गरेको जिकिर गरे । गृहमन्त्रीका रूपमा प्रतिनिधि सभा–प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित तरिकाले शान्तिपूर्ण रूपमा एकैचरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई खुसी लागेको खाणले बताए ।