
कतारमा जारी फिफा विश्वकप फूटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जीत दर्ता गरेको छ ।
कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै पहिलो जीत दर्ता गरेको हो ।
क्रोएसियाको जीतमा आन्द्रेज क्रमारिचले २ गोल गरे भने मार्को लिभाजा र लेभ्रो माजेरले समान १/१ गोल थपे ।
क्यानडाका अल्फान्सो डाभिसले १ गोल फर्काए । खेलमा शुरूआती अग्रता भने क्यानडाले बनाएको थियो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए तर खेलको ३६ औं मिनेटमा क्रोएसियाका क्रमारिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यसपछि खेलको ४४औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई ३–१ को अग्रता दिलाए । यसपछि खेलको इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए ।
यस जीतसँगै समूह ‘एफ’को क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्यानडाको यो लगातार दोस्रो हार हो र क्यानडा प्रतियोगिताबाट बाहिरिएको छ ।