२८ जेठ २०८३, बिहीबार

मधेश प्रदेशको सरकार बनाउन जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक

मंसिर १२, २०७९
मधेश प्रदेशको सरकार बनाउन जनमत पार्टी र स्वतन्त्र सांसद निर्णायक

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा  निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्न सकेनन् । 

संघमा बनेको गठबन्धन अनुसार मधेश प्रदेशमा पनि नेपाली कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालकोे गठबन्धन थियो तर यहाँ सरकार बनाउन सक्ने गरी दुवै गठबन्धनको स्पष्ट बहुमत आउन नसकेपछि जनमत पार्टी र स्वतन्त्र सांसदको भर पर्नुपर्ने निश्चित देखिएको छ ।

प्रदेश सभामा प्रत्यक्ष तर्फका ६३ क्षेत्रको नतिजा आउँदा वाम लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलले २८ र एमाले नेतृत्वको गठबन्धनले २२ सिट जितेको छ । अन्तिम नतिजा आउन बाँकी धनुषा ४(२) मा एमाले उम्मेदवार अगाडि छन् ।  

वाम लोकतान्त्रिक गठबन्धनका दलमध्ये कांग्रेसले १३, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ७, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा ४/४ सिट जितेका छन् । गठबन्धनमा कांग्रेसले सप्तरी ३(१), धनुषा ३(१), धनुषा ४(१), सर्लाही २(१), सर्लाही २(२), सर्लाही ४(१), रौटहट १(१), रौटहट १(२), रौतहट ३(२), पर्सा २(१), पर्सा ३(२), पर्सा ४(१) र धनुषा १(१) मा जितेको छ । 

लोसपाले पर्सा २(२), महोत्तरी २(१), महोत्तरी ३(१), महोत्तरी ३(२), सर्लाही १(१), सिरहा ४(२) र बारा ४(२) मा जितेको छ । माओवादी केन्द्रले सर्लाही ४(२), महोत्तरी १(२), रौतहट ४(१) र पर्सा १(१) मा जितेको छ भने एकीकृत समाजवादीले रौतहट २(२), सर्लाही १(२), सिरहा ३(२) र सप्तरी ४(१) मा जितेको हो ।  
 
एमाले–जसपा गठबन्धनमा एमालेले १४ र जसपाले ९ स्थानमा जितेको छ । एमालेले सप्तरी १(१), सिरहा १(१), सिरहा २(२), सिरहा ३(१), धनुषा १(१), धनुषा २(१), धनुषा ३(२), रौतहट २(१), बारा १(१), बारा ३(१), बारा ४(१), बारा ३(२), महोत्तरी १(१) र महोत्तरी ४(१) मा जितेको छ । जसपाले धनुषा २(२), पर्सा १(२), पर्सा ४(२), बारा १(२), रौतहट ४(२), सर्लाही ३(२), सिरहा १(२), बारा २(२) र महोत्तरी ४(२) मा जितेको हो । 

यी २ गठबन्धनबाहेक जनमत पार्टीले ६ र स्वतन्त्र सांसदले ६ क्षेत्रमा जितेका छन् । जनमत पार्टीले सप्तरी १(२), सप्तरी २(१), सप्तरी २(२), सप्तरी ३(२), सिरहा ४(१) र सिरहा २(१) मा जितेको छ भने स्वतन्त्र सांसदले पर्सा ३(१), बारा २(१), महोत्तरी २(२), रौतहट ३(१), सर्लाही ३(१) र सप्तरी ४(२) मा जितेका हुन् ।   

समानुपातिक तर्फको अहिलेसम्मको मतअनुसार ३ लाख १७ हजार ११४ मतसहित कांग्रेस पहिलो र २ लाख ८१ हजार ९०२ मतसहित एमाले दोस्रो स्थानमा छ । जसपाले २ लाख २७ हजार ४७०, जनमत पार्टीले २ लाख २१ हजार ८६७, माओवादीले १ लाख ४० हजार ८२८, एकीकृत समाजवादीले ९३ हजार ४६२ र लोसपाले ८० हजार ५८० मत प्राप्त गरेको छ ।   

अघिल्लो निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ संघीय समाजवादी फोरम (हालको जसपा) ले १९ र राष्ट्रिय जनता पार्टी (हालको लोसपा) ले १५ गरी ३४ सिट जितेका थिए । १०७ सदस्यीय मधेश प्रदेश सभामा समानुपातिकसहित जसपाको २९ र लोसपाको २५ सहित स्पष्ट बहुमत थियो । त्यो बेला एमालेको २१, कांग्रेसको १९, माओवादी केन्द्रको ११ र संघीय समाजवादी नेपाल पार्टी नेपालको १ सिट जोड्दा पनि सरकार बन्ने अवस्था थिएन । अहिले भने यी दुवै गठबन्धनले स्पष्ट बहुमत नल्याएपछि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारको भर पर्नुपर्ने देखिएको हो ।  –टीकाराम सुनार/रासस

salt training

कमेन्ट गर्नुहोस्